काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पछिल्लो समय दुई छोराबाट पीडामा परेको छ – एकातर्फ पार्टीका केही नेताहरू थुनिएका छन् भने अर्कोतर्फ वरिष्ठ नेता तथा सांसद दीपक बोहराको निधनले शोकमा डुबेको छ।
मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राप्रपा सांसद ज्ञानबहादुर शाहीले पार्टीले भोगिरहेको दुःखद परिस्थिति भावनात्मक मात्र नभई राजनीतिक दृष्टिले पनि गम्भीर भएको बताए।
“आज राप्रपाका लागि अत्यन्तै दुःखको दिन हो,” शाहीले भने, “वरिष्ठ नेता दीपक बोहराको निधनले हामी स्तब्ध भएका छौं। उहाँको योगदान सदैव स्मरणीय रहनेछ।”
शाहीले थुनिएका नेताहरूको अवस्थासमेत उल्लेख गर्दै अहिलेको संकटलाई अवसरमा बदल्ने प्रतिबद्धता जनाए। “हाम्रा नेताहरू जेलमा छन्, वरिष्ठ नेता हामीबाट विदा हुनुभयो, तर हामी यो पीडालाई शक्तिमा रूपान्तरण गर्नेछौं,” उनले स्पष्ट पारे।
राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री बोहरा मंगलबार उपचारका क्रममा निधन भएका थिए। उनको निधनले राप्रपाभित्र मात्र होइन, समग्र राजनीतिक वृत्तमा पनि शोकको लहर फैलिएको छ।
सांसद शाहीले बोहराको योगदानलाई पार्टीले आत्मसात गर्दै उहाँले देखाएको मार्गमा अघि बढ्ने विश्वास व्यक्त गरे। अहिलेको चुनौतीपूर्ण समयलाई संगठन सुदृढीकरणको अवसरका रूपमा लिँदै राप्रपाले नयाँ ऊर्जा संकलन गर्ने संकेत पनि उनका शब्दहरूमा झल्किएको छ।
प्रतिक्रिया दनुहोस्