काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो तिनकुने घटनालाई लिएर गम्भीर प्रतिक्रिया दिएका छन्। उनले राजावादी शक्तिहरूलाई आपराधिक मानसिकता बोकेको समूह भन्दै ती घटनाहरूले उनीहरूको वास्तविक स्वरूप उजागर गरेको दाबी गरेका छन्।
प्रेस सेन्टर नेपालको नव निर्वाचित पदाधिकारीहरूलाई मंगलबार बधाई दिँदै प्रचण्डले प्रतिगमनकारीहरू आफ्नो पार्टीको अभियान चलिरहेको बेला उग्र रूपमा सक्रिय भएको बताए। “हामी अभियानमा व्यस्त थियौं, उनीहरूले टाउको उठाउँदै वितण्डा मच्चाए। अवस्था चर्कंदै जाँदा दुर्घटनाको खतरा देखेर केही दिन अभियान रोकेर काठमाडौंमा ठूलो जनसभा गर्नुपर्यो,” उनले भने।
चैत्र १५ मा समाजवादी मोर्चाले आयोजना गरेको भव्य सभाको प्रसंग उल्लेख गर्दै प्रचण्डले उक्त सभा प्रतिगमनविरुद्धको स्पष्ट सन्देश भएको बताए। उनले भने, “वितण्डा मच्चाउने क्रममा एक श्रमजीवी पत्रकार र एक सर्वसाधारणको हत्या भयो। यसले माओवादी केन्द्र गणतन्त्रको नेतृत्व गर्न सक्षम छ भन्ने पुष्टि भएको छ।”
प्रचण्डको भनाइले राजावादी प्रवृत्तिमाथि कडा आक्षेप मात्र होइन, आगामी दिनमा गणतन्त्रको रक्षाका लागि संघर्ष चर्किने संकेतसमेत दिएको छ। उनका अनुसार, प्रतिगमनको विरुद्धमा अझ सशक्त रूपमा उभिने तयारीमा माओवादी केन्द्र जुटिरहेको छ।
प्रतिक्रिया दनुहोस्