काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय (काठमाडौँ) विमानस्थलको सञ्चालन अवधि आजदेखि बढ्दैछ । कात्तिक २३ गतेदेखि घटेको विमानस्थलको सञ्चालन अवधि सोमबारसम्म दैनिक १४ घण्टा मात्रै रहेको थियो।
आज (मंगलबार)देखि दैनिक १८ घण्टा सञ्चालन हुन थालेको हो । सोहीअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नयाँ फ्लाइट सेड्युलसमेत निर्धारण गरेको छ ।
विमानस्थलको स्तरोन्नति कार्य आंशिक रूपमा सम्पन्न भई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) को मापदण्डअनुसार कायम गर्नसक्ने अवस्था भएसँगै सञ्चालन अवधि वृद्धि गर्न लागिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख जगन्नाथ निरौलाका अनुसार ट्याक्सी–वेलाई धावनमार्गसँग जोड्ने लिंक वेको निर्माण सम्पन्न भएको छ । योसँगै धावनमार्गबाट निर्माण स्थलसम्म कायम हुनुपर्ने न्यूनतम दूरीको मापदण्ड पूरा हुने अवस्थासँगै सञ्चालन अवधि बढाउन लागिएको हो ।
अब काठमाडौँ विमानस्थल बिहान ६ बजे खुल्नेछ भने राति १२ बजे बन्द हुनेछ । यसअघि विमानस्थलको सञ्चालन अवधि बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म रहेको थियो । सञ्चालन अवधि बढेसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गरिरहेका कम्पनीहरूको उडानको संख्यासमेत आनुपातिक रूपमा बढ्ने विमानस्थल कार्यालयले जनाएको छ ।
तर, अहिले तोकिएको सञ्चालन अवधि कात्तिक २३ अघिको भन्दा कम हो । विमानस्थलको स्तरोन्नति सुरु हुनुअघि विमानस्थल राति साढे २ बजेसम्म सञ्चालन हुन्थ्यो भने बिहान ६ नबज्दै नै खुलिसक्थ्यो । अहिले सञ्चालन अवधिलाई रातमा २ घण्टा तथा बिहानको १ घण्टा घटाइएको छ । अब यो नै विमानस्थलको पूर्णकालीन सञ्चालन अवधि नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारी बताउँछन् ।
किन घटाइयो सञ्चालन अवधि ?
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान बेलुकी ८ः३० बजे नै सकिन्छ । त्यो पनि पार्किङ गर्न उपत्यका बाहिरका विमानस्थलमा जानैपर्ने व्यवस्था भएकोले मात्रै । त्यसभन्दा पछाडि हुने भनेको अन्तर्राष्ट्रिय उडान तथा अवतरण मात्रै हो ।
अन्तर्राष्ट्रिय उडान तथा अवतरण पनि लगभग १२ बजेसम्म भइसक्छ । विमानस्थल सञ्चालन २ बजेसम्म हुँदा पनि योबिचमा मध्यपूर्वबाट आउनेजाने एक/दुईवटा मात्रै उडान र अवतरण मात्रै हुँदै आएको थियो । खासगरी राति साढे २ बजेसम्म अवतरण गर्नेगरी कतार एयरवेज, फ्लाइ दुबई, कुवेत एयरवेज लगायत केही एयरलाइन्सको उडान यो अवधिमा हुने गर्थ्यो ।
विमानस्थलको सञ्चालन अवधि घट्नुअघिको सेड्युल हेर्ने हो भने कतार एयरवेजको विमान दैकि रूपमा राति १ः०० बजे आइपुग्ने र २ः१५ बजे उड्ने गर्थ्यो । जजिरा एयरको विमान १ः३० बजे आइपुगेर २ः३० बजे उड्ने कार्यतालिका थियो । फ्लाई दुबईको विमान राति ०ः१५ मा आएर १ः१५ मा उड्ने गरेको थियो । कुवेत एयरको विमान १ः०० बजे आइपुगेर २ः०० बजे उड्ने गरेको थियो । दैनिक २/३ वटा फ्लाइटको लागि साढे २ घण्टासम्म चलाएर विमानस्थलको खर्च बढाउन उपयुक्त नभएकोले सञ्चालन अवधिलाई १८ घण्टामा सीमित गर्न लागिएको ती अधिकारी बताउँछन् ।
‘कर्मचारीलाई ओभर टाइम दिएर विमास्थल सञ्चालन गर्नुपर्छ । साढे २ घण्टा कम खोल्दा करोडौं रुपैयाँ बचत हुने अवस्था पनि देखियो । विमानस्थलका मेसिनहरूलाई पनि कम्तीमा ६ घण्टा रेस्ट चाहिन्छ । त्यसैले १२ बजेसम्म मात्रै खोल्न लागेका हौं,’ ती अधिकारी भन्छन्, ‘धेरै फ्लाइट गर्ने भए भैरहवा जानुपर्यो, यहाँ योभन्दा धेरै समय चल्दैन ।’
प्रतिक्रिया दनुहोस्