मकवानपुर : मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ६ मा लागु औषध कारोबारीले प्रहरीको पेस्तोल लुटेको छ।
कैलाश गाउँपालिका ६ स्थित दुम्सीखर्क जङ्गलमा लागु औषध कारोबारी रहेको सूचना पाएर सोमवार इलाका प्रहरी कार्यालय पालुङका प्रहरी हवलदार अर्जुन तामाङ र सहायक हवलदार गोविन्द मगरातीसहित त्यहाँ गएको प्रहरी टोली माथि कुटपिट गरी पेस्तोल लुटेर भागेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले अफिम कारोबारीहरू त्यहाँ रहेको सूचना आएपछि गएको प्रहरी टोलीको पेस्तोल लुटिएको जानकारी दिए। लागु औषध कारोबारीसहितका १०–१५ जनाको समूहले हुल हुज्जत गरी पेस्तोल लुटेर लगेको भन्दै उनले पेस्तोल र लुटपाटमा संलग्नहरूको खोजी कार्य भईरहेको बताए।
हवलदार तामाङ र सहायक हवलदार मग्राती लागु औषध कारोबार भइरहेको सूचना पाएर जङ्गलमा गएकोमा अफिम र मोटरसाइकल छाडेर लागु औषध कारोबारी भागेका थिए। अफिम र मोटरसाइकल लिएर इलाका प्रहरी कार्यालय तर्फ आउँदै गर्दा ठुलो समूहमा रहेका स्थानीयले घेरा हालेर प्रहरीलाई कुटपिट गरेका थिए।
घटना पाए लगतै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालको नेतृत्वमा प्रहरी परिचालन भए पनि हतियार अझै फेला नपरेको जनाएको छ। प्रहरी उपरीक्षक खड्काले घटनामा संलग्न रहेको र पेस्तोल खोजी कार्य भइरहेको बताए।
प्रतिक्रिया दनुहोस्