दुर्गा प्रसाईं भारत पुगिसकेको खुलासा, प्रहरीद्वारा नेपाल ल्याउन भारतीय प्रहरीसँग समन्वय

काठमाडौं : काठमाडौंमा हिंसात्मक प्रदर्शन मच्चाएर फरार भएका दुर्गा प्रसाईं भारत पुगेको खुलेको छ । 

यही चैत १५ गते उनको नेतृत्वमा तीनकुने क्षेत्रमा भएको प्रदर्शन अराजक बनेपछि उनी मोटरसाइकल चढेर काठमाडौंबाट भागेको र पछि भारत पुगेको प्रहरी स्रोतले जनाएको छ । 

Seti Hospital

प्रदर्शन उत्तेजित बनाएको र आन्दोलनका ‘कमान्डर’ समेत रहेकाले पक्राउ गर्ने तयारी भइरहेका बेला उनी काठमाडौं छाडेर भारत भागेको प्रहरीको भनाइ छ ।

प्रदर्शन हिंसात्मक बनेलगत्तै तीनकुनेबाट भागेर उनी ललितपुरको इमाडोलस्थित आफ्ना गुरु पुष्कर खतिवडाको घर पुगेका थिए । त्यहाँ उनी केहीबेर बसे । फलफूल खाए । अनि ललितपुरको फर्सीडोल हुँदै चितवनको ठोरी रुटबाट भारत गएको प्रहरीको दाबी छ । उनलाई पक्राउ गर्न राति साढे ७ बजेतिर प्रहरी खटिँदा उनी फरार भइसकेका थिए ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार, प्रसाईं ललितपुरको कान्ति लोकपथको विभिन्न बाटोहरू प्रयोग गरेर चितवनको ठोरी पुगेर भारत पसेको देखिन्छ । उनी भारत पुगेको केही महत्वपूर्ण प्रमाणसमेत फेला परिसकेको छ । 

प्रसाईंले भने आइतबार दिउँसो भिडियो सन्देश जारी गर्दै आफू काठमाडौंको एक मन्दिरमा सुरक्षित रहेको बताएका छन् । शुक्रबारको घटनालगत्तै पनि उनले प्रहरीले जहाँ बोलाउँछ आफू त्यहीँ जाने बताएका थिए । 

प्रसाईं भारत पुगेको सूचनापछि उनलाई पक्राउको आन्तरिक तयारी सुरु भएको छ । त्यसनिम्ति नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआर्ईबी)को टोलीले भारतीय प्रहरीसँग समन्वय थालेको छ ।

घटना भएको दिन शुक्रबार दिउँसो साढे २ बजेतिर आफैँले सवारी चलाएर प्रहरीलाई पेल्दै उनले निषेधाज्ञा तोडेका थिए । प्रहरीलाई गाडीले धकेल्दै अघि बढेर ढुक्कले गाडीबाट निस्कँदासमेत उनलाई पक्राउ गरिएन । प्रहरीका एक अधिकारीका अनुसार तीनकुनेमा हिंसात्मक गतिविधि हुँदासमेत उनलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइएको थिएन । 

शुक्रबार भएको प्रदर्शनमा पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनले ज्यान गुमाएका थिए भने दर्जनौँ घाइते बनेका थिए । साथै सरकारी र निजी सम्पत्तिमा तोडफोड र लुटपाट मच्चाइएको थियो । प्रदर्शनक्रममा दर्जनौँ सवारीसाधन, सार्वजनिक सम्पत्ति, निजी घरमा तोडफोड, आगजनी र भाटभटेनी सुपरस्टोरमा लुटपाट समेत गरिएको थियो । 

आइतबार नै प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रसाईंलाई कुनै पनि हालतमा पक्राउ गर्न मातहतका सुरक्षा अधिकारीलाई ‘कडा’ निर्देशन दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई call24news.media@gmail.com मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार