काभ्रेपलाञ्चोक : जर्मनीका रोटरी भोलेन्टियर डा ईभी तथा रोटरी क्लब अफ धुलिखेलको आर्थिक सहयोगमा धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पताल, बाँकेको कोहलपुरस्थित कौशल्या मेमोरियल अस्पताल र नवलपरासीको बर्दघाटस्थित सहिद स्मृति अस्पताललाई ३६ वटा हेमोडायलाइसिस मेसिन प्रदान गरिएको छ।
आज धुलिखेलमा एक कार्यक्रमबीच धुलिखेल, शिर मेमोरियल र कोशल्या मेमोरियललाई १०/१० थान तथा सहिद स्मृति अस्पताललाई छ थान मेसिन हस्तान्तरण गरिएको हो। रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष ज्योत्सना सैँजुका अनुसार ती मेसिन कूल पाँच करोड बढी मूल्यका हुन्। यसैबीच सोही कार्यक्रममा स्थानीय तह तथा संस्थाको साझेदारीमार्फत ब्लड बैंक तथा रिसर्च सेन्टर र विद्युतीय शवदाह गृह निर्माणका लागि सम्झौता गरिएको छ।
धुलिखेल अस्पताल, धुलिखेल नगरपालिका र रोटरी क्लब अफ धुलिखेलको त्रिपक्षीय साझेदारीमा ब्लड बैंक तथा रिसर्च सेन्टर स्थापनाका साथै धुलिखेलनगर र रोटरी क्लब अफ धुलिखेलको साझेदारीमा विद्युतीय शवदाह गृह निर्माण गर्न आजै सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो। यी संरचना निर्माणार्थ कुन मोडलमा जाने भन्ने विषयमा अबका बैठकले तय गर्ने धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जूले जानकारी दिए।
प्रतिक्रिया दनुहोस्