काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आजदेखि पार्टीको जिम्मेवारीमा फर्किएका छन् । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसमेत मुद्दामा गत कात्तिक २ गते पक्राउ परेपछि उनी पार्टीको भूमिकामा निष्क्रिय थिए ।
रास्वपाको आज बस्ने केन्द्रीय समितिको बैठकको दोस्रो सत्रको सभापतित्व सभापति लामिछानेले नै गर्ने भएका छन् । बैठक दिउँसो ३ बजे पार्टी कार्यालयमा बस्ने छ । लामिछाने निस्कृय हुँदा उपसभापति डोलप्रसाद अर्याल (डिपी) लाई कार्यवाहक सभापति तोकिएको थियो ।
रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले आजको केन्द्रीय समितिको बैठकबाटै सभापति लामिछाने नियमित जिम्मेवारीमा फर्किन लागेको जानकारी दिएका छन् ।
उनका अनुसार आजको केन्द्रीय समितिको पहिलो बैठक कार्यवाहक सभापति अर्यालकै अध्यक्षतामा बस्नेछ । त्यो बैठकमा उनले पद हस्तान्तरण र धन्यवाद ज्ञापन गर्नेछन् ।
लामिछानेले अध्यक्षता गर्ने दोस्रो बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट आआफ्नो संक्षिप्त रिपोर्टिङ गर्ने कार्यसूची छ ।
त्यस्तै लिडरसिप एकेडेमीको फ्लो चार्ट, जनयात्रा कार्यक्रमबारे छलफल हुनेछ ।
त्यस्तै पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस र अधिवेशन/महाधिवेशन कार्यतालिकाबारे सघन छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दनुहोस्