काठमाडौं : नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले प्रधानमन्त्री संसदप्रति गैरजिम्मेवार बनेको आरोप लगाएका छन् । आइतबार संसद् भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
तीनकुनेमा भएको व्यवस्थाविरोधी घटनाका बारेमा प्रधानमन्त्रीले संसदमार्फत सम्बोधन गरेर व्यवस्थाप्रति विश्वास आर्जन गर्नुपर्ने सांसद सापकोटाको भनाइ छ ।
‘व्यवस्थालाई रक्षा गर्नका निमित्त, यो व्यवस्थालाई सुदृढ गर्नका निमित्त, विधि मूल्य मान्यतालाई सुदृढ गरेर अगाडि लैजानका लागि प्रधानमन्त्री जिम्मेवार हुनुहुन्न,’ सांसद सापकोटाले भने, ‘यो अराजकता बेथिति र उश्रृङ्खलतालाई थप मलजल गर्ने काम गरी राख्नुभएको छ ।’
उनले प्रधानमन्त्री आफैं संसद्मा आएर जवाफ नदिइ संसद् नचल्ने पनि बताए ।
‘प्रधानमन्त्री आउनुभएपछि हाम्रो कुनै अवरोध हुँदैन । र प्रधानमन्त्रीले यी सबै पछिल्ला जे अराजकता, उछृङखलता र व्यवस्थाकाविरुद्ध जुन प्रकारका लुटपाट मच्चाइयो, मान्छेहरुलाई थुनेर आगो लगाएर हत्या गर्ने स्थिति सिर्जना भयो यी सबैका बारेमा प्रधानमन्त्री त आज हामीले नबोलाए पनि आउनु पथ्र्यो,’ उनले भने ।
सांसद सापकोटाले प्रधानमन्त्री र सत्तापक्ष असहिष्णु, गैरजिम्मेवार, घटनाक्रम र व्यवस्थाप्रति संवेदनशील नभएको आरोप लगाए ।
प्रतिक्रिया दनुहोस्