काठमाडौं : राजतन्त्रवादीहरुको ‘संयुक्त जनआन्दोलन परिचालन समिति’ का मुख्य कमाण्डर तोकिएका दुर्गा प्रसाईँले प्रहरीसँग माफी मागेका छन् ।
चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित कार्यक्रममा प्रसाईँले प्रहरीमाथि अभद्र व्यवहार गर्दै सुरक्षा घेरा तोड्ने प्रयास गरेका थिए । गठ्ठाघरस्थित निजी निवासबाट तीनकुने आएका प्रसाईँ गाडीको माथि नै रहेका थिए । तर जब उनी माथिबाट झरेर आफैँ गाडी चलाउँदै प्रहरीको सुरक्षा घेरा तोड्दै अघि बढे त्यसपछि प्रहरीले धरपकड गरेको थियो ।
सोही दिन कार्यक्रमस्थलबाट फरार रहेका प्रसाईँले आइतबार सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्र्दै सुरक्षा चुनौतीका कारण आफू लुकेर सुरक्षित स्थानमा बसेको दाबी गरेका छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नै आफूलाई जहाँ भेट्यो उहीँ गोली हान्ने आदेश दिएको समेत आरोप लगाएका छन् ।
‘म भागेको छैन म भाग्दिन, किनभने मलाई गोन्जालो बनाएर यो आन्दोलन दबाउने कोसिस गरिएको छ । मलाई साफ सुटर प्रयोग गरि भेटेको ठाउँमा गोली हान्नु भन्ने प्रधानमन्त्रीको आदेश छ भन्ने मैले आदेश सुनेपछि म सुरक्षित ठाउँमा बसेको छु । म भागेको छैन,’ उनले भनेका छन् ।
शुक्रबारको तीनकुने घटनापछि प्रसाईँ फरार रहेको र प्रहरीले खोजी गरिरहेको छ । तर प्रसाईँ भने आफू काठमाडौंमै रहेको बताएका छन् । साथै उनले आफू काठमाडौंकै कुनै मन्दिरमा रहेको समेत बताएका छन् ।
प्रतिक्रिया दनुहोस्