काठमाडौं : काठमाडौंको तीनकुनेमा पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा आयोजित प्रदर्शन हिंसात्मक बनेपछि यसको नेतृत्व गरेका दुर्गा प्रसाईँ फरार भएका छन् । प्रहरीले उनको खोजीलाई तीव्र बनाएको छ ।
शुक्रबार ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को आयोजनामा प्रदर्शन भएको थियो। तर, तीनकुनेस्थित मञ्चमा अश्रुग्यास प्रहार भएपछि प्रसाईँ घटनास्थलबाट भागेका थिए । प्रहरीका अनुसार उनी गैरीगाउँ नजिकको सटरमा पसेपछि स्कोर्पियो चढेर त्यहाँबाट हिँडेका थिए ।
प्रसाईँको खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रधान कार्यालयका टोली खटिएका छन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार उनी चक्रपथ हुँदै ललितपुरतर्फ गएको आशंका गरिएको छ । आन्दोलनको नेतृत्व गरेका अर्का संयोजक नवराज सुवेदीलाई प्रहरीले घरमै नजरबन्द गरेको छ ।
प्रदर्शनको अगुवाई गर्ने प्रसाईंविरुद्ध मानवहत्याको अभियोगमा मुद्दा चलाउने तयारी छ । शुक्रबार काठमाडौंको कोटेश्वर, तीनकुने क्षेत्रमा भएको हिंसात्मक गतिविधिलाई उक्साहट गर्ने राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलसमशेर राणाविरुद्ध मतियारका रुपमा मुद्दा चलाउने तयारी छ ।
प्रतिक्रिया दनुहोस्