प्रदर्शनलाई लिएर सवारी डाइभर्सन, सडकमा सवारी साधन न्यून, सडक खाली

काठमाडौं : काठमाडौंमा आज हुने राजावादी र गणतन्त्रवादीको दुई छुट्टाछुट्टै प्रदर्शनलाई लिएर बिहानैबाट सवारी डाइभर्सन गरिएको छ । काठमाडौंको तीनकुनेमा राजावादी र भृकुटीमण्डपमा गणतन्त्रवादीहरूले प्रदर्शन गर्दै छ ।

उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार, बिहानैदेखि सवारी जाम हुनसक्ने भएकाले ट्राफिक व्यवस्थापनका लागि आज एक हजार ८०० ट्राफिक प्रहरी खटाइएको छ ।  

यो समाचार लेख्दासम्म रत्नपार्क, डिल्लीबजार, पुतलीसडक, बागबजार क्षेत्रमा सवारी आवागमन असहज भइसकेको छ । समाजवादी मोर्चाको भृकुटीमण्डपमा हुने प्रदर्शनलाई लिएर यी ठाउँमा सवारी आवागमन असहज भएको हो । भृकुटीमण्डपको मूल सडकमै बिहानैदेखि मञ्च बनाउन लागिएकाले पनि त्यसको असर यहाँ परेको हो ।

तर, बिहान ९ बजेदेखि नै कोटेश्वर, नयाँबानेश्वर, बबरमहल, जमल, रत्नपार्क, लैनचौर, नयाँबजार लगायत क्षेत्रमा सवारी साधन एकदम कम चल्न थालिसकेका छन् । सडकमा चार पाङ्ग्रे सवारी साधन त्यति चलेका छैनन् । सवारी साधन नचलेकाले सर्वसाधारण नागरिक पैदल यात्रा गर्न बाध्य भएका छन् । 

गणतन्त्र पक्षधर समाजवादी मोर्चा र व्यवस्था उल्टाउन लागिपरेका पूर्वराजा समर्थकले आयोजना गर्न लागेको प्रदर्शनमा एक अर्कासँगको भेट हुन नदिने नीति प्रशासनले अख्तियार गरेको छ । परस्पर विरोधी दुई पक्षको भेट हुँदा अप्रिय घटना हुनसक्ने भन्दै प्रशासनले यो रणनीति अख्तियार गरेको हो ।

प्रशासनले राजावादी र गणतन्त्रवादीको जुलुस एक अर्कासँग भेट हुन नदिने उद्देश्यले राजावादीलाई रिङरोड (चक्रपथ)भन्दा भित्र प्रवेश गर्न नदिने रणनीति लिएको देखिएको छ । यसैगरी, समाजवादी मोर्चाको प्रदर्शनलाई भने रिङरोडभित्र सीमित गर्ने रणनीति लिएको छ ।

काठमाडौं प्रशासनले गणतन्त्र पक्षधर समाजवादी मोर्चालाई भृकुटीमण्डपमा र राजावादी पक्षलाई तीनकुने क्षेत्रमा प्रदर्शन गर्न अनुमति दिएको छ । प्रशासनको सुरक्षा रणनीतिअनुसार राजावादीको कलंकीतर्फबाट निस्किने जुलुस बल्खु, सातदोबाटो, ग्वार्काे, कोटेश्वर हुँदै तीनकुने आउनेछ । यस्तै, भक्तपुरतर्फबाट आउने जुलुस कोटेश्वर हुँदै तीनकुने आउनेछ भने अर्को जुलुस जोरपाटी, बौद्ध, चाबहिल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने आउनेछ । यसैगरी गोंगबु, सामाखुसी क्षेत्रबाट चाबहिल हुँदै तीनकुने आउने गरी राजावादीको जुलुसको अर्को रुट तय गरिएको छ ।

समाजवादी मोर्चाको जुलुस भने रिङरोडभित्रै सीमित राख्ने प्रशासनको योजना रहेको छ । भक्तपुरतिरबाट आउने समाजवादी मोर्चाका समर्थक सवार गाडीलाई प्रहरीले कोटेश्वरबाट बालकुमारीतर्फ डाइभर्सन गरेर पठाउने भएको छ ।

मोर्चामा संलग्न ४ दलमध्ये नेकपा माओवादी केन्द्रले ४ ठाउँबाट प्रदर्शन गर्दै छ भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले दुई ठाउँ र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र महेन्द्रराय नेतृत्वको नेपाल समाजवादी पार्टीले एक एक ठाउँबाट प्रदर्शन गर्नेछन् ।

जसअनुसार माओवादी केन्द्रले बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सोह्रखुट्टेबाट जुलुस प्रदर्शन गर्नेछ भने एकीकृत समाजवादीले मैतीदेवी डिल्लीबजार हुँदै आउनेछ । उता, चन्द नेतृत्वको नेकपाले सुन्धाराबाट प्रदर्शन गर्नेछ भने नेसपाले न्युरोड गेटबाट प्रदर्शन गर्नेछन् ।

दिउँसो १ बजेबाट सुरु हुने जुलुस प्रदर्शनी मार्गमा पुगेर सभामा परिणत हुनेछ । 

यस्तै, मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को ब्यानरमा तीनकुनेमा गर्न लागिएको प्रदर्शनमा अन्य राजावादी दल पनि जोडिँदै गएका छन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समिति’ले प्रसाईंसँगै मिलेर प्रदर्शन गर्ने बताइसकेको छ । यति मात्र नभई सुवेदी नेतृत्वको समितिले शुक्र वारको प्रदर्शनको कमान्डर नै मेडिकल व्यवसायी प्रसाईंलाई तोकेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संयोजक सुवेदीले प्रसाईं समूहले शुक्रबार गर्ने प्रदर्शनलाई समितिले समर्थन गर्ने र शुक्रबारदेखि नै आन्दोलन सुरु हुने घोषणा गरेका छन् । प्रसाईंलाई जनकमान्डर घोषणा गर्न आयोजित कार्यक्रममा राप्रपाका नेता प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवलशमशेर राणा उपस्थित थिए । लोहनी र राणा मञ्चमा बसेका थिए भने पाण्डे फ्लोरमा बसेका थिए । महामन्त्री राणा सुवेदी नेतृत्वको समितिमा आन्दोलन परिचालन समितिमा पनि छन् ।

संयुक्त जनआन्दोलन समितिले एक साताभित्र आफ्ना शान्तिपूर्ण आग्रहलाई स्वीकार गर्न अल्टिमेटम दिएको छ । संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा आन्दोलनलाई २१ चैतदेखि थप सशक्त बनाउँदै लैजाने घोषणा गरे । ‘आजको मितिले एक साताभित्र सरकारले हाम्रो शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा हामी हाम्रो आन्दोलनलाई २१ चैतदेखि थप सशक्त बनाउँदै लैजान बाध्य हुनेछौँ,’ सुवेदीले भने, ‘त्यसबाट सिर्जित नतिजाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्नेछ ।’

सो समितिले २०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा आउन गणतन्त्रवादी दलहरूलाई आह्वान गरेको छ । २०७२ सालको संविधानमा रहेका सकारात्मक प्रावधानलाई समेट्दै २०४७ सालको संविधानलाई आधार मानेर प्रमुख राजनीतिक पक्षहरूबिच सहमति बन्नुपर्ने चाहना रहेको सुवेदीको भनाइ छ ।

राप्रपाले पनि केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमै राजसंस्था पुनर्स्थापना लागि आन्दोलन गर्ने निर्णय गरिसकेको छ । १२ चैतमा आन्दोलन परिचालन मूल समिति बैठक गरेर राप्रपाले २६ चैतमा काठमाडौंमा प्रदर्शन गर्ने र ७ वैशाखदेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्ने घोषणा गरिसकेको छ । राप्रपाले राजसंस्था पुनर्स्थापना लागि यसअघि हुने आन्दोलनलाई समर्थन गर्ने निर्णयसमेत गरिसकेको छ । राप्रपाले ‘समान उद्देश्य र विचार भएका राजनीतिक दल, संयुक्त जनआन्दोलन समिति, विभिन्न संघ संगठनहरूसँग सहकार्य, कार्यगत एकता वा मोर्चा गठन गरी आन्दोलनका कार्य अघि बढाइने’ निर्णय गरेको थियो । त्यसैले शुक्र वारको प्रदर्शनमा पनि राप्रपाको सक्रिय उपस्थिति हुने देखिएको छ ।

यस्तै, सम्भावित मुठभेड रोक्न उपत्यका प्रहरी कार्यालय रानीपोखरीले तीनकुने र प्रदर्शनीमार्गमा ठूलो संख्यामा प्रहरी परिचालन गर्ने योजना बनाएको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा ३ हजार ५ सय प्रहरी खटाउने भएको छ । यसको कमान्ड जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारीले गर्ने भएका छन् । प्रदर्शनस्थलमा भने एसपी अपिल बोहरा खटिनेछन् ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) शेखर खनालका अनुसार, आवश्यकताअनुसार काठमाडौं प्रहरी प्रमुख एसएसपी अधिकारीले कमान्ड सेन्टर र फिल्डमा गएर सुरक्षा व्यवस्थापन गर्नेछन् ।

सशस्त्र प्रहरी बलले प्रदर्शनमा ५० प्लाटुन सशस्त्र प्रहरी परिचालन गर्ने भएको छ । सशस्त्र प्रहरी बलका प्रवक्ता तथा डीआईजी कुमार न्यौपानेका अनुसार काठमाडौं उपत्यकाका विभिन्न भागमा ती सशस्त्र प्रहरी परिचालन हुनेछन् ।

सशस्त्र प्रहरीको एउटा प्लाटुनमा ३५ जना सुरक्षाकर्मी रहने गरी १ हजार ७ सय ५० जना खटाउने भएको छ । यस्तै, सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले पनि पछिल्लो राजनीतिक अवस्था र शुक्रबार हुनसक्ने सम्भावित चुनौतीको विश्लेषण गर्दै आफ्नो सुरक्षा रणनीति तय गरेको अवस्था छ । सशस्त्र प्रहरी नेपाल प्रहरीको सहयोगीका रूपमा खटिँदै आएको छ । यो भनेको भीड नियन्त्रणको पहिलो भूमिका प्रहरीले निभाउने भन्ने हो । यसका लागि सूचना संकलनका रूपमा राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर)को टोली पनि खटिनेछ ।

यस्तै, सुरक्षा व्यवस्थापनका लागि भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालयमा ‘कमान्ड सेन्टर’ स्थापना गरिएको छ । कमान्ड सेन्टरबाट काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, एसएसपी विश्व अधिकारी र सशस्त्र प्रहरी बलका प्रतिनिधिले सुरक्षा निगरानी गर्नेछन् ।

प्रदर्शनमा अवैध गतिविधि नियन्त्रण गर्न सादा पोसाकका प्रहरीलाई परिचालन गर्ने उपत्यका प्रहरी कार्यालयको योजना छ । सुरक्षालाई मध्यनजर गर्दै सादा पोसाकका प्रहरीसमेत परिचालन हुनेछन् । घुसपैठ हुन नदिन र घुसपैठ गर्नेहरूको पहिचान गर्न सादा पोसाकका प्रहरीले सहयोग गर्ने बताइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार