नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

ललितपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताएका छन् ।

महिला उद्यमी महासङ्घको आठौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैह्रविषयलाई मुद्दा बनाएर एक निकायको कर्मचारी हेरफेरको सवालमा सदन अवरुद्ध गर्न नहुने बताए ।

उनले यही चैत १८ गतेभित्र जारी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयक पारित गर्ने गरी तयारी भइरहेको अवस्थामा त्यसलाई प्रभावित पार्ने गरी सदन अवरुद्ध गर्न लागेकामा चिन्ता व्यक्त गरे ।

“वषौँसम्म त्यही निकायमा काम गरेको सक्षम मान्छेलाई जिम्मेवारी दिइँदा प्रशंसा गर्नुपर्नेमा त्यो नगरी प्रशंसा नगर्नुपर्नेलाई झुठा प्रशंसा गरिएको छ । गाली नगर्नुपर्नेलाई गाली गरिएको छ ।” प्रधानमन्त्री ओलीले भने, “आन्दोलनका नाममा के के हुँदैछ भनेर आतङ्क सृजना गर्न खोजिएको छ । चैत १५ गते काठमाडौँका दुई स्थानमा हुने भनिएको जुलुस र सभा हुन्छ । सकिन्छ । हुने त्यत्ति हो । यसलाई तिललाई पहाड बनाउनुपर्ने केही छैन ।”

प्रधानमन्त्री ओलीले औपनिवेसिक र सामन्तवादी स्थितिले सिङ्गै नेपाली समाज पछाडि परेको र त्यसमा पनि महिलाहरुलाई झन् पछाडि पारिएको स्थितिमा सङ्घर्ष र बलिदानको परिणामबाट समाज परिवर्तन र विकासको यात्रामा अघि बढेको बताए ।

उनले पञ्चायती शासनकालमा निकै पछाडि परेको मुलुक अहिले चौतर्फी विकासको क्रममा अघि बढेको र खासगरी आफूले सरकारको नेतृत्व गरेका समयमा ठूला र रणनीतिक महत्वका आयोजना अघि बढेकाले निराश हुनुपर्ने अवस्था नरहेको स्पष्ट गरे ।

आजदेखि यही चैत १८ गतेसम्म ललितपुरको हेरिटेज गार्डेनमा चल्ने मेलामा महिला उद्यमीद्वारा उत्पादित नेपाली वस्तुहरुको प्रर्दशनी राखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार