बाजुरा : बाजुरामा फलाम खानीको प्रारम्भीक अध्ययन गरिएको छ । जिल्लाको गौमुल गाउँपालिकाका विभिन्न स्थानमा नेपाल सरकारको खानी तथा भूगर्भ विभागको जियोलोजिष्ट टोलीले फलाम खानीको प्रारम्भीक अध्ययन गरेको हो ।
टोलीले सम्भावित स्थानमै पुगेर प्रारम्भीक अध्ययन सम्पन्न गरेको छ । गाउँपालिकाले पालिकाका विभिन्न स्थानमा फलाम खानी रहेको तथ्यसहित सम्भाव्यता अध्ययनको लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्राचार गरेको थियो । नेपाल सरकारको खानी तथा भूगर्भ विभागका जियोलोजिष्ट नविन विक र राजेश शर्माको टोलीले सयौं वर्ष पहिले फलाम उत्खनन् गरिएका गुफाहरूमा पुगेर प्रारम्भिक अध्ययन गरेको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले गाउँपालिकाका विभिन्न स्थानमा सयौँ वर्ष पहिले फलाम उत्खनन् गरिएका प्रमाणहरुका आधारमा फलाम खानीको अध्ययन गरिएको बताईन । ‘सयौं वर्ष पहिले फलाम उत्खनन् गरिएका धाउ र सामाग्री निर्माणका लागि प्रयोग भएका प्रमाणहरूको आधारमा फलाम खानीको अध्ययन गरिएको हो’ उनले भनिन् ।
जियोलोजिष्ट नविन विकले पालिकाका विभिन्न स्थानमा प्रारम्भीक अध्ययन गरिएको बताए । उनका अनुसार परम्परागत समयमा फलाम उत्खनन् गरिएका माडि खोलामा रहेको बाम्णा धाउ गुफा, अम्लिसको नुवामाटा, भूटिपरी, रनेडा, आला, निलासैन आदि स्थानहरूमा फलाम खानीको प्रारम्भिक अध्ययन गरिएको हो ।
पहिलो चरणमा संकलित स्याम्पलहरूको परीक्षण गरिने र रिपोर्टको आधारमा आगामी चरणमा पुनः अध्ययन गरिने उनको भनाइ छ । एक हप्तासम्मको अध्ययनको क्रममा भेटिएका स्याम्पलहरू काठमाण्डौं लगिएको र यसको परीक्षण पछि फलामको अस्तित्व पुष्टि गरिने बताईएको छ । फलाम खानिको सम्भाव्यता अध्ययन गरिएपछि स्थानीय बासिन्दाहरू उत्साहित भएका छन् ।
प्रतिक्रिया दनुहोस्