काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको हितको लागि इमान्दारसाथ काम गरिरहेको बताएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता सुजाता कोइरालाद्वारा लिखित पुस्तक ‘म र मेरो सानोबुवा’ आत्मकथाको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएको विषयप्रति लक्षित गर्दै तिललाई पहाड बनाउने काम भइरहेको बताए ।
‘मैले आइडोलोजी त्यति धेरै हेर्दिनँ, देशप्रतिको निष्ठा हेर्दछु । आइडोलोजी आफ्नो-आफ्नो हुनसक्छन् । देश साझा हो । सोच फरक फरक हुनसक्छन् तर गन्तव्य एउटै हो देश । देश कसरी बनाउने भन्ने कुरा हो । तिलको पहाड बनाएका छन्,’ उनले भने । कुलमानलाई हटाएको विषयमा त्यसै विरोध भइरहेको उनको भनाइ छ । ‘केही सानो एउटा त्यान्द्रो विषय पाएका जस्तो लाग्यो केही मानिसलाई उफ्रिरहेका छन्, कुदिरहेका छन् । के पायौँ के पायौँ, इस्यु भेटियो भनेर हिजैदेखि वक्तव्यबाजी शुरु भएको । यही त्यान्द्रो हो,’ उनले भने ।
प्रतिक्रिया दनुहोस्