काठमाडौं : सरकारको लक्ष्यअनुरुप आगामी वैशाख २४ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १० हजार दर्शक अट्ने प्यारापिट बनाइनसक्न र फ्लड लाइट स्थापना गर्ने कामको गतिलाई तीनवटै सत्रमा तीव्रता दिन थालिएको छ।
कामको प्रगति अनुगमन गर्न बिहीबार राति प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय टोलीले निरीक्षण गरेको छ। राति नौबजे प्रधानमन्त्रीको सचिवालयका अधिकृत टोली जनसम्पर्क सल्लाहकार किरण पौडेल, प्रधानमन्त्रीको निजी सचिव विनोद कुँवरसहितको टोली साइटमा पुगेका थिए।
टोलीलाई यसबारे जानकारी दिँदै भवन निर्माण मन्त्रालयका सहसचिव चक्रवर्ती कन्ठले अहिले मैदानको चोभार इन्डतर्फ दायाँ र बायाँतर्फ अन्तरराष्ट्रियस्तरका दुईतले प्यारापिट बनाइने बताए।
यसैगरी, रङ्गशालाका छ स्थानमा फ्लडलाइट जडान गर्ने काम भइरहेको उनले जानकारी दिए। यसका लागि अहिले जमिनको सतहमुनि रहने पाइल बनाउने काम भइरहेको छ। कामलाई निर्धारित समयभित्र सम्पन्न गर्न तीनवटै प्रहरमा काम भइरहेका छन्। दिनमा एक सय र राति करिब ६० जना जनशक्ति खटिइरहेका छन्।
अहिले करिब १० हजार दर्शक अट्नेगरी ३५ प्रतिशत जमिनमा काम भइरहेको पनि उनले बताए। सबैतर्फ काम सम्पन्न भएपछि भने ५० हजार जना दर्शक अटाउन सक्ने भनाइ उनको थियो।
निरीक्षणपश्चात विकास निर्माणलाई तीव्रता दिने कुरामा प्रधानमन्त्रीको समेत चासो रहेकाले काममा तीव्रता दिन टोलीले निर्देशन दिएका थिए।
प्रतिक्रिया दनुहोस्