काठमाडौं : कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेको संसदमा राखिएको एक विवादास्पद अभिव्यक्तिले पार्टीभित्र तीव्र आलोचना चुलिएको छ । उनले प्रतिनिधिसभा बैठकमा ‘यौन व्यवसाय खुला गर्नुपर्छ’ भन्ने धारणा राखेपछि पार्टीका नेताहरू आक्रोशित भएका छन् ।
सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकमा घिमिरेको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाइएको छ । महिला नेतृहरू र पदाधिकारीहरूले प्रमुख सचेतक जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले संसदमा बोलेका शब्दहरू पार्टीको प्रतिनिधित्व गर्ने भएकाले यस किसिमका धारणा सार्वजनिक रूपमा व्यक्त गर्न नहुने तर्क गरेका छन् । कतिपय नेताहरूले त घिमिरेलाई कारबाहीको माग समेत गरेका छन् ।
महिला सांसदहरू इश्वरी न्यौपाने, सीता गुरुङ लगायतले बैठकमा विशेष समय लिएर घिमिरेको अभिव्यक्तिको कडा आलोचना गरे । महामन्त्री गगन थापा, सहमहामन्त्री महालक्ष्मी उपाध्याय, प्रवक्ता प्रकाशसरण महत लगायतका नेताहरूले घिमिरेको अभिव्यक्तिले पार्टीको छविमा आँच पुर्याएको बताएका छन् । कतिपय नेताहरूले प्रमुख सचेतकले सधैं पार्टीको हितभन्दा व्यक्तिगत स्वार्थ केन्द्रित बयान दिने गरेको आरोपसमेत लगाए ।
बैठकमा उपस्थित अधिकांश नेताहरूले घिमिरेलाई पदबाट हटाउनुपर्ने संकेत गरेपछि सभापति देउवाले उनलाई व्यक्तिगत रूपमा बोलाएर स्पष्टीकरण माग्ने निर्देशन दिए। उपसभापति पूर्णबहादुर खड्काले भने घिमिरेको बचाउ गर्दै उनले व्यक्तिगत विचार राखेको हुनसक्ने र अनावश्यक विवाद नगरिनुपर्ने बताएका छन् । उनले घिमिरेले माफी मागेर आफ्नो अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने सुझाव दिए ।
घिमिरेले आइतबार संसदमा बोलेको उक्त अभिव्यक्तिपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले पनि त्यसलाई संसदीय मर्यादा विपरीत भन्दै रेकर्डबाट हटाउन माग गरेका छन् । माओवादी सांसद दुर्गा राईले समाजलाई अराजकतातर्फ लैजाने अभिव्यक्ति संसदीय रेकर्डमा रहन नसक्ने भन्दै संसदबाट हटाउनुपर्ने बताइन् ।
यसअघि पनि यस्ता विवादित अभिव्यक्तिका कारण मन्त्री पद गुमाएका उदाहरणहरू छन् । तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले ‘बंगलादेशमा पढ्न गएका नेपाली छात्राहरूले यौन व्यवसाय गरेको’ भन्ने अभिव्यक्ति दिएका कारण मन्त्री पद गुमाएका थिए । अहिले घिमिरेको अभिव्यक्तिले पनि त्यस्तै खालको विवाद निम्त्याएको छ ।
कांग्रेस नेतृत्वले यसबारे औपचारिक निर्णय नलिएको भए पनि घिमिरेलाई सार्वजनिक रूपमा माफी मागेर आफ्नो अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन सभापति देउवाले निर्देशन दिएका छन् ।
प्रतिक्रिया दनुहोस्