धनगढी : धनगढी सभा गृह सञ्चालनमा आउन अझै एक वर्ष लाग्ने देखिएको छ।
धनगढी उपमहानगरपालिका–८ को सभा गृह फागुन २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। तर, धनगढी सभा गृह सञ्चालनमा ल्याउन अझै समय लाग्ने भएको हो। सभा गृहको भित्री निर्माणको काम नभएकाले उद्घाटन लगत्तै सभा गृह सञ्चालनमा ल्याउन समस्या भएको हो।
सङ्घीय सरकारले निर्माण गरेको सभा गृहमा साउन्ड सिस्टम, भिडियो सिस्टम, फर्निचर र ल्याण्डस्केपिङको काम गर्न बाँकी छ। बाँकी रहेको काम गर्न सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीले फागुन २० गते सार्वजनिक ठेक्काका लागि सूचना निकालेको छ। सभा गृहको आन्तरिक र बाहिरी निर्माणको काम गर्न फागुन २० गते सार्वजनिक सूचना निकालिएको सूचना अधिकारी इन्जिनियर पुष्पराज भट्टले बताए। उनले भने, ‘धनगढी सभा हलको बाँकी काम गर्न बहुवर्षीय गुरुयोजना स्वीकृत भएको छ। साउन्ड सिस्टम, भिडियो सिस्टम, फर्निचर र ल्याण्डस्केपिङका लागि भनेर संघीय सरकारले दुई करोड १५ लाख बजेट छुट्याइएको छ। बहुवर्षीय ठेक्का सम्झौता गरेर काम अगाडि बढ्छ।
धनगढी सभा गृहको प्रधानमन्त्री ओलीले फागुन २५ गते उद्घाटन गरेसँगै सभा गृह सञ्चालन बारे सर्वसाधारणले चासो राखेका छन्। तर, सभा गृहको आन्तरिक काम सक्न ठेक्का सम्झौता भएपछि पनि कम्तीमा एक वर्ष निर्माणमै लाग्ने सङ्घीय सहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ।
प्रतिक्रिया दनुहोस्