धनगढी : डोटीको पूर्वीचौकी गाउँपालिका केन्द्र बिन्दु भएर २०७९ कात्तिक २२ गते भूकम्प गयो।
डोटीसहित बाजुरा, बझाङ लगायतका जिल्लामा पनि भौतिक संरचनाहरूमा क्षति भयो।
डोटीका धेरै घरहरूमा क्षति भएको छ। तर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डोटीमा एक हजार तीन सय ६५ लागग्राही कायम गरेको छ। उनीहरूको घर मर्मत तथा पुनर्स्थापनाका लागि प्राधिकरणले बजेट दिने छ। तर, हालसम्म २ सय लाभग्राहीसँग मात्र सम्झौता गरेका छन्।
जिल्ला प्रशासन कार्यालय, डोटीले २ सय लाभग्राहीसँगको सम्झौता मात्र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको बताएको छ। पुर्वीचौकीमा मात्र सात सय ५२ लाभग्राही भएपनि जिल्लामा २ सयसँग मात्र सम्झौता भएको हो। डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले एक हजार तीन सय ६५ लाभग्राही जिल्लामा रहेका बताए। २०७९ कात्तिक २२ गतेको भूकम्पमा क्षति धेरै भएपनि प्राधिकरणले एक हजार तीन सय ६५ लाभग्राही मात्र छनौट गरेको हो। पूर्वीचौकी गाउँपालिकाका सबै भन्दा बढी सात सय ५२ लाभ ग्राही छन्। दीपायल–सिलगढी, जोरायल र आदर्श गाउँपालिकाका पनि लाभग्राहीहरू छन्। उनीहरू सबैसँग सम्झौता भने अझै भएको छैन। सम्झौताको काम अहिले पनि जारी रहेको प्रमुख जिल्ला अधिकारी जोशीले बताएका छन्।
जाजरकोटमा गएको भूकम्पका पीडितहरूले भने पहिलो किस्ताको रकम पाएका छन्। बाजुरा जिल्लामा एक हजार अठ सय ४४ लाभग्राहीहरूले पहिलो किस्ताको रकम पाएका हुन्। उनीहरूले दोस्रो किस्ताको रकम पाउन बाँकी छ। उनीहरूले २५ हजारका दरले घर मर्मत तथा पुनर्निर्माणका लागि रकम पाएका हुन।
२०७९ कात्तिक २२ गतेको भूकम्पले गरेको क्षतिको राहत भने बाजुराका पीडितहरूले पनि पाएका छैनन्। डोटी केन्द्र बिन्दु भएको भूकम्पले बाजुरामा एक हजार एक सय ६६ घरमा क्षति भएको प्राधिकरणले जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाजुरा जिल्लमा एक हजार एक सय ६६ लाभग्राही कायम गरेको हो। उनीहरूसँग सम्झौता नभएको जिल्ला प्रशासन कार्यालय, बाजुराले बताएको छ।
डोटी केन्द्र बिन्दु भएको भूकम्पबाट बझाङमा चार हजार आठ सय ५८ घर तथा भौतिक संरचनाहरूमा क्षति भएको थियो। तर, प्राधिकरणले बझाङमा एक हजार सात सय ५२ लाभग्राही कायम गरेको छ। उनीहरूसँग सम्झौताको काम पूरा भएको छैन। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले घरहरू मर्मत सुधारका लागि ५० हजार र एक लाख तथा पुनर्निर्माणका लागि पाँच लाख रुपैयाँ लाभग्राहीहरूलाई दिने छ। प्राधिकरणले जिल्ला प्रशासन कार्यालय हुँदै लाभग्राहीको बैँक खातामा रकम पठाउने भएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भटराईले स्थानीय तहहरूमार्फत सम्झौताको काम जारी रहेको बताए।
सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका भूकम्प पीडितहरूले घर मर्मत तथा पुनर्निर्माणका लागि बजेट नपाएका हुन। डोटी भूकम्पको आठ सय ६१ दिन हुँदा पनि सम्झौतासमेत भएको छैन। निजी आवास निर्माणको काम अगाडि बढेको छैन। बझाङ, अछाम र जाजरकोटमा प्राधिकरणको इकाई कार्यालय स्थापना गरेको छु। उनले भने, ‘डडेल्धुरा, बझाङ, अछाममा डोटी केन्द्र बिन्दुको भूकम्प र बझाङ केन्द्र बिन्दुको भूकम्पको क्षतिको अनुदानको काम थालिएको छ।’
डोटी केन्द्र बिन्दु भएर २०७९ कात्तिक २२ गते भूकम्प गएको थियो। तर, डोटी, बाजुरा र बझाङका भूकम्प पीडितहरूले घर मर्मत तथा निर्माणका लागि रकम नपाएका हुन। स्थानीय सरकारहरूले सङ्कलन गरेको विवरणका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लाभग्राही छनौट गरेको हो। तर, भूकम्प गएको लामो समयसम्म पनि उनीहरूसँग सम्झौता गरिएको छैन।
प्रतिक्रिया दनुहोस्