रेडियो नेपालका पत्रकार राममाथि आक्रमण

महोत्तरी : रेडियो नेपालका महोत्तरी संवाददाता मञ्जित राममाथि भएको साङ्घातिक आक्रमणको चौतर्फी निन्दा एवं भर्त्सना गरिएको छ।

जिल्लाको सोनमा गाउँपालिका–५ स्थित आफ्नै निवासमा बसिरहेको अवस्थामा आइतवार दिउँसो गाउँकै कुँजविहारी यादवसहित निजको परिवारका सदस्य मिलेर पत्रकार रामको घरमा जबरजस्ती प्रवेश गरी बन्धक बनाएर निर्घात रूपमा कुटपिट गर्नुका साथै बर्बर यातना दिएर घाइते बनाएकोप्रति सञ्चारमाध्यमले निन्दा एवं भर्त्सना व्यक्त गरेका हुन्।

पत्रकार रामलाई कुटपिट, बन्धक, बर्बर यातना र घाइते बनाएकामा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको तर्फबाट महासचिव रामप्रसाद दाहाल, नेपाल पत्रकार महासङ्घ प्रादेशिक कार्यसमिति मधेस प्रदेशको तर्फबाट महासचिव शैलेन्द्र महतो, नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाको तर्फबाट सचिव रामनारायण महतो, नेपाल प्रेस युनियन महोत्तरी शाखाबाट सचिव नवीन चौधरी र प्रेस सेन्टर नेपाल महोत्तरीबाट सचिव विकास आर्य ठाकुरले आज छुट्टाछट्टै विज्ञप्ति जारी गर्दै घटनाको भर्त्सना गरेका छन।

जारी विज्ञप्तिमा कुनै पनि बहानामा पत्रकार राममाथि गरिएको आक्रमण निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको अपराध भएको, पत्रकारलाई हतोत्साहित एवं त्रसित बनाउने काम भएकाले यस हर्कतमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकार रामलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गरिएको छ।

विज्ञप्तिमार्फत शरीरका विभिन्न भागमा चोट लागेर प्रादेशिक अस्पताल जलेश्वरमा उपचाररत पत्रकार रामको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले घाइते पत्रकारको स्वास्थ्य परीक्षण र आवश्यक जाँच गराइएको बताउँदै घाउखतको रिपोर्ट आएपछि अनुसन्धान प्रक्रिया अघि बढाइने बताए उनले घटनामा संलग्न भएकाहरूको खोजी भइरहेको उल्लेख गरे।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार