काठमाडौं : बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका-६ मा गाईमाथि गरिएको अमानवीय व्यवहार अहिले चर्चाको विषय बनेको छ । सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा स्थानीयबासीको एक समूहले गाईलाई कुटपिट गर्दै कर्णाली नदीमा हेल्ने प्रयास गरेको देखिन्छ । यो घटनापछि प्रशासनले तत्काल प्रहरी परिचालन गर्दै संलग्न व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको छ ।
घटनापछि जिल्ला प्रशासन कार्यालयले संलग्न स्थानीयबासीलाई नियन्त्रणमा लिन आदेश दिएको छ । प्रमुख जिल्ला अधिकारी मेघानाथ पाध्याले वडाध्यक्षसहित घटनामा संलग्नहरूलाई सदरमुकाम झिकाउन प्रहरीलाई निर्देशन दिइसकेको जानकारी गराए । प्रशासनले दोषीहरूमाथि आवश्यक कानुनी कारबाही अघि बढाउने तयारी गरिरहेको छ । ‘गाईलाई कुटपिट गर्दै नदी पारि फ्याँक्ने कार्य अमानवीय हो । यसलाई कुनै पनि हालतमा स्वीकार्न सकिँदैन । स्थानीय प्रशासनले दोषीहरूमाथि छानबिन गरी कारबाही गर्नेछ,’ प्रमुख जिल्ला अधिकारी पाध्याले भने ।
घटनाबारे वडाध्यक्ष धनबहादुर सार्कीले प्रस्ट पार्दै भने अनुसार, यो गाउँमा वर्षौंदेखि चलिआएको परम्परा हो । कसैको मृत्यु हुँदा ‘गौदान’ गर्ने चलन रहेको र गौदान गरिएको गाईलाई कर्णाली नदी पारि लैजाने परम्परा रहिआएको उनले बताए । तर, आधुनिक समयमा आएर यस्तो परम्परा विवादास्पद बन्न पुगेको हो ।
विशेष गरी गाईलाई निर्दयतापूर्वक कुटपिट गर्ने दृश्यले आम जनमानसमा आक्रोश फैलाएको छ । यसअघि पनि नेपालका विभिन्न स्थानमा परम्पराका नाममा जनावरमाथि क्रूर व्यवहार गरिँदै आएको पाइन्छ । पशु अधिकारकर्मीहरूले भने यस्तो हिंसात्मक अभ्यास तत्काल रोक्नुपर्ने माग राखेका छन् ।
स्थानीय प्रशासनले घटनाका दोषीहरूलाई सोधपुछका लागि झिकाएको भए पनि, घटनामा पीडित बनेको गाई सुरक्षित रहेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी पाध्याका अनुसार कुटपिटपछि गाई पुनः गाउँमै फर्किएको छ । ‘गाई अहिले सुरक्षित छ । तर, यसरी राष्ट्रिय जनावरमाथि अमानवीय व्यवहार गर्नु कानुनी रूपमा दण्डनीय अपराध हो । यसबारे प्रशासनले कठोर निर्णय लिनेछ,’ पाध्याले थपे ।
यो घटनापछि सामाजिक सञ्जालमा व्यापक विरोध सुरु भएको छ । धेरैले सरकारलाई पशु अधिकार सुनिश्चित गर्न र दोषीलाई कडा सजाय दिन माग गरिरहेका छन् । नेपालमा गाईलाई राष्ट्रिय जनावरको रूपमा सम्मान गरिन्छ । गाईमाथि हिंसा गर्नु कानुनी रूपमा गम्भीर अपराध मानिन्छ ।
प्रशासनले घटनामा संलग्न स्थानीयबासीहरूसँग छलफल गर्ने र आवश्यक निर्णय लिने जनाएको छ । कानुनी कारबाही हुने या परम्परागत अभ्यासलाई ध्यानमा राखेर नरम निर्णय गरिने भन्ने विषय प्रशासनको अन्तिम निर्णयपछि मात्र स्पष्ट हुनेछ ।
नेपालमा परम्परागत संस्कार र आधुनिक कानुनी व्यवस्था बीचको द्वन्द्व बेला-बेलामा देखिने गरेको छ । बाजुराको यो घटना पनि यस्तै एक उदाहरण हो, जसमा स्थानीय परम्पराको आडमा जनावरमाथि हिंसा भएको देखिन्छ । प्रशासनले यसलाई गम्भीर रूपमा लिएको छ र दोषीहरूमाथि आवश्यक कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने बताएको छ ।
प्रतिक्रिया दनुहोस्