बाजुरा : बाजुरामा गाईलाई कुटीकुटी नदिमा हेल्ने ब्यक्तिहरुलाइ सदरमुकाम झिकाउन जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको छ । जिउँदै गाईलाई ढुंगाले हान्दै नदीमा बगाएको भिडियो भाइरल भएपछी प्रशासनले वडाध्यक्ष सहित उनिहरुलाइ सदरमुकाम झिकाउन प्रहरीलाइ निर्देशन दिएको हो ।
प्रमुख जिल्ला अधिकारी मेघानाथ पाध्याले गाईलाई हिंस्रक व्यवहार गर्नेहरुलाई झिकाउन प्रहरीलाई निर्देशन भइसकेको बताए । ‘गाईलाई कुटीकुटी कर्णाली नदी पारी लेखेट्न प्रयास गर्नेहरुलाई झिकाउन प्रहरीलाई भनिसकिएको छ र त्यसअनुसार प्रहरी परिचालन भइसकेको छ,’ पाध्याले भने, ‘उनीहरुले काजकिरियाको काम सकिएपछि आउँछौं भनेका छन् ।’ स्थानीयका कुरा सुनेपछि आवश्यक निर्णय लिने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी पाध्याका अनुसार गाईलाई कुट्दै नदीमा हेल्ने प्रयास गरिए पनि उक्त गाई गाउँमै फर्किएको छ । ‘गाई गाउँमै फर्किएको छ र अहिले सुरक्षित छ,’ उनले भने, ‘गाई राष्ट्रिय जनावर समेत भएकाले त्यस किसिमको हिंस्रक व्यवहार गर्न पाइँदैन ।’
वडाध्यक्ष धनबहादुर सार्कीका अनुसार कुनै मान्छेको मृत्यु हुँदा गौदान गर्ने र गौदान गरेको गाईलाई यसैगरी कर्णाली नदी पारी लेखेट्ने गरिएको छ ।
आइतबार बाजुराको जगनाथ गाउँपालिका – ६ काप्रेमा नदीमा बगाइँदै गरेको गाइको भिडियो भाइरल भएको थियो । स्थानीय एक व्यक्तिको मलामी गएकाहरुले एउटा गाई कुट्दै कर्णाली नदीको किनारमा गाईलाई बल प्रयोग गरेर नदीमा बगाइएको भिडियोमा देखिन्छ ।
गाई नदीमा बगाउँदा फर्किन खोज्दा स्थानीयले ढुंगा हानेर फर्काइरहेका थिए । गाई दुई पटक फिर्ता नदी किनारामा आउन खोजेपछि स्थानीयले गाईलाई ढुंगा हानेर लखेटेको भिडियोमा देख्न सकिन्छ ।
प्रतिक्रिया दनुहोस्