काठमाडौं : कथाकार गुरुप्रसाद मैनालीको कृतिमा आधारित रहेर निर्माण हुन लागेको फिल्म ‘परालको आगो’मा अभिनेता प्रकाश सपुत अनुबन्धित भएका छन् ।
निर्माता कम्पनी हरिओम सिने मेकर्ससँग उनले लिखित सम्झौता गरे । मैनाली कथा पुरस्कार ट्रस्टले निर्माता कम्पनीलाई पुस्तकको मर्म नबिग्रने सर्तमा निर्माणको अनुमति दिइसकेको छ ।
‘परालको आगो’ मैनालीको कथा संग्रह ‘नासो’मा संग्रहित छ । फिल्मका दुई शीर्षमध्ये एक पात्रको भूमिकामा सपुत देखिने जनाइएको छ । यसअघि जितु नेपाल र सुहाना थापा अनुबन्धित भैसकेका छन् ।
फिल्मका दुई पुरुष पात्र चामे र जुठे दमाइमध्ये सपुतले कुन चरित्र चित्रण गर्छन् भन्ने टुंगो छैन । गौंथलीको भूमिकामा अभिनेत्री थापा देखिने पक्का छ ।
फिल्ममा सुशील देवकोटाको पटकथा, संकल्प भुजेलको छायांकन, रामजी लामिछानेको नृत्य, सत्य–स्वरुपराज आचार्यको संगीत हुनेछ । प्रदर्शन २०८२ लाई तय छ । यही नाममा ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले फिल्म निर्देशन गरेका थिए । फिल्मलाई लक्ष्मण सुनारको निर्देशन गर्नेछन् ।
प्रतिक्रिया दनुहोस्