अत्तरिया : कैलालीको अत्तरियामा रहेको साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले शोक सभा आयोजना गरेको छ । संस्थाका अध्यक्ष टिकादत्त जोशीको निधन भएको १३औ दिनको पुण्यतिथिका अवसरमा संस्थाले शोक सभा आयोजना गरेको हो ।
शोकसभाका सहभागिहरुले स्वर्गीय जोशीले संस्थाको प्रगतीका लागि गरेका कार्यहरु सम्झिएका थिए । कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिका– ४ का वडाध्यक्ष हेमप्रकाश मल्लले स्वर्गीय जोशीको निधनले समाजको एउटा खम्बा ढलेको महसुस गरेको बताए । उनले सामाजिक क्षेत्रमा सदैव कटिबद्ध रहने समाजसेवी जोशीको देहावसानले सिँगो समाजलाई नै क्षति पुगेको बताए ।
‘मान्छे मरिसकेपछि उसको बारेमा चर्चापरिचर्चा गर्ने गरिन्छ, तर उहाँको सवालमा त्यस्तो थिएन’ मल्लले भने ‘उहाँ बितेकै दिन फल्टुडेबाट, बयालाबाट, चुरेको १ नम्बरबाट, सहजपुरबाट, ओलानीबाट कतिपय दिदीबहिनीहरुले श्रद्धाञ्जली दिनुभएको थियो ।’ उनले मृतक जोशीले आफूलाई व्यक्तिगत रुपमा पनि धेरै सहयोग पु-याएको हुँदा आफूले एउटा अभिभावक गुमाएको महसुस गरेको बताए ।
संस्थाका का.बा. अध्यक्ष शेरबहादुर बिष्टले संस्थाले सरल, मिलनसार र मेहनती व्यक्ति गुमाएको बताए । उनले संस्थामा आवद्ध भएदेखी संस्थाको हितमा सदैव अग्रसर रहेका व्यक्ति गुमाउदा निकै पिडा बोध भएको बताए । ‘उहाँ संस्थामा हुँदा हामीले अफ्ठ्यारो महसुस गर्नुपरेको थिएन’ उनले भने ‘उहाँ हाम्रो अभिभावक हुनुहुन्थ्यो, निकै अनुभवी हुनुहुन्थ्यो, थुप्रै काममा दक्षता हासिल गर्नुभएको थियो ।’ उनले संस्थाको प्रगती प्राप्त गर्नुमा स्वर्गिय जोशीको निकै ठुलो योगदान रहेको बताए । बिष्टले संस्थालाई अझै अगाडी बढाउन स्वर्गीय जोशीले छोडेर गएको कामलाई परिपुर्ति गर्ने र खानेपानी संस्थाको प्रगती पथमा पु¥याउने जोशीको सपना साकार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
संस्थाले स्वर्गीय जोशीको उपचारमा लागेको खर्च र क्रियाखर्च उनको परिवारलाई हस्तान्तरण गरेको छ । खानेपानीकै कामको सिलसिलमा काठमाण्डौ गएको अवस्थामा विरामी भई निधन भएकाले संस्थाले उपचारमा लागेको खर्च र क्रियाखर्च परिवारलाई हस्तान्तरण गरेको संस्थाका कार्यालय प्रमुख कुलानन्द पनेरुले बताए ।
‘संस्थाको कार्यका लागि काठमाण्डौ गएको अवस्थामा उहाँ बिरामी पर्नुभएको थियो, सोही समयदेखी उहाँले उपचार गराईराख्नुभएको हो’ उनले भने ‘तर अब उहाँ बित्नुभएको अवस्थामा उहाँको उपचार खर्च र क्रियाखर्च वाफतको रकम संस्थाले उहाँको परिवारलाई प्रदान गरेको हो ।’
उनका अनुसार संस्थाले उपचार र क्रियाखर्चवाफत स्वर्गीय जोशीको परिवार ३ लाख १५ हजार बराबरको चेक हस्तान्तरण गरेको हो ।
प्रतिक्रिया दनुहोस्