काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सीप अनुसारको रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताएका छन् ।
नेपाली कांग्रेस केन्द्रिय कार्यालयमा आईतवार रोजगारको समस्या समाधानका बारेमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाली बजारमा भएका जनशक्तिमध्ये ८१ प्रतिशत बिना सीपको न्युनस्तरको श्रमशक्ति रहेको बताए ।
उनले पालमा सञ्चालन भएका उद्योगमा आवश्यक सीपसहितका जनशक्ति विदेशबाट आयात भइरहेको बताए । उनले विदेशमा बिनासिपको श्रमशक्ति माग भइरहेकाले नेपाली जनशक्ति विदेश जाने क्रम बढेको दाबी गर्नुभयो । नेपालमा युवा जनशक्तिलाई सीप प्रदान गर्नुपर्ने वा सीप अनुसारको रोजगार सिर्जना गर्नुपर्नेमा जोड दिए ।
उनले भने,‘नेपालमा हाइड्रो पावर निर्माण भइरहेको छ जसबाट रोजगारी सिर्जना भएको छ तर नेपालीले काम पाइरहेका छैनन् । नेपालीले काम पाएन भनि रहेका छौँ तर किन काम पाएन भन्नेकुरा यस्तो छ । चिनियाँको तुलनामा ४५ प्रतिशत, भारतको हिसावमा ८१ प्रतिशत उत्पादनको अवस्था देखिन्छ । किन यस्तो भयो होला त ? श्रम बजारमा भएको हाम्रो जनशक्तिमध्ये अधिकांश तह एकको छ । तह एकको भनेको सबैभन्दा तल्लो किसिमको सीप भनेको हो ।
श्रम बजारमा मान्छे छ । कसैले उद्योग खोल्यो । उसलाई श्रमिक चाहिएको छ । सीप दिने अर्कैतिर छ । जुन सीप चाहिएको हो त्यो आइरहेको छैन । फेरि बाहिर (विदेश) को बजारले सीप (स्किल) नभएको मान्छे चाहिएको छ । हामी हाम्रो मान्छे बाहिर गयो मात्र भन्छौँ किन गयो भनेर खोजी गर्दैनौँ । उसँग उमेर छ, श्रम शक्ति छ तर सीप छैन । हाम्रोमा स्किल भएको कामको मात्र रोजगारीको सिर्जना भएको देखिन्छ कतिपय सन्दर्भमा । कृषि क्षेत्रमा भएको श्रम शक्ति ८५ प्रतिशत तह एकको छ ।’
महामन्त्री थापाले देशमा ठूलो जनसंख्या रोजगारबाट विमुख भएको तथा रोजगार पाएकाले पनि कम पारिश्रमिक पाएका कारण विदेश जान बाध्य भएको बताए ।
सुनका गहना बनाउने लगायत कतिपय रोजगारमा नेपाली युवाको अरुचिका कारण अधिकांश कामदार विदेशबाट आउने गरेको उनको भनाइ छ ।
प्रतिक्रिया दनुहोस्