काठमाडौं : नेपाली पुरूष क्रिकेट टिमले आगामी जुन महिनामा अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छ । आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा गएर नेपालले लामो समयपछि त्रिदेशीय शृंखला खेल्ने छ ।
क्रिकेट स्कटल्याण्डले आफ्नो वेबसाइटमा उल्लेख गरेको खेल तालिका अनुसार जुन २ देखि सुरु हुने शृंखलामा नेपालले सोही दिन स्कटल्याण्डसँग खेल्ने छ भने जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्ने छ । त्यस्तै जुन ८ मा पुन: स्कटल्याण्डसँग तथा जुन १० मा नेदरल्याण्ड्ससँग खेल्ने छ ।
एकदिवसीय विश्वकपको आधारको रूपमा रहेको आईसीसी विश्वकप लिग २ मा नेपालले सन् २०२५ मा योसहित तीन सिरिजहरू खेल्ने छ जसमध्ये दुई सिरिज नेपालबाहिर हुँदैछन्
अक्टोबरमा नेपालले यूएई र अमेरिकासँग यूएईमा खेल्नेछ भने नोभेम्बरमा नेपालमै यूएई र ओमानसँग खेल्ने प्रारम्भिक तालिका छ ।
सात टिम सहभागी लिग २ मा १२ खेल खेलिसकेको नेपाल केवल ६ अंक जोड्दै छैटौं स्थानमा छ । त्यसैले नेपालका लागि अब हुने यी १२ खेल निकै महत्वपूर्ण हुनेछन् ।
विश्वकपमा छनोटको दृष्टिकोणबाट मात्र नभएर एकदिवसीय मान्यता जोगाउने आधार पनि यी १२ खेलमा गरिने प्रदर्शन नै हुनेछ ।
अघिल्लोपटक यस्तै निरन्तरको खराब प्रदर्शनलाई चमत्कारिक रूपमा सुधार गर्दै नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेको थियो र विश्वकप छनोटमा सीधै स्थान बनाएको थियो ।
उक्त कमब्याकलाई नेपाली क्रिकेटका उत्कृष्टमध्येको एक कमब्याक मानिन्छ ।
प्रतिक्रिया दनुहोस्