बैतडी : बैतडीमा झन्डै १७ हजार राष्ट्रिय परिचयपत्र सेवाग्राहीले नलिँदा कार्यालयमै थन्किएका छन्। जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार छपाइ भई आएका १६,९०८ थान परिचयपत्र वितरण हुन बाँकी छन्।
सूचना अधिकारी पवन कुमार शाहीका अनुसार एक वर्षअघि २० हजार परिचयपत्र जिल्लामा पुगे पनि हालसम्म मात्र ३,०९२ वटा वितरण भएका छन्। राष्ट्रिय परिचयपत्र लिन बायोमेट्रिक प्रणालीबाट रुजु गर्नुपर्ने हुँदा सेवाग्राही कम आएको अनुमान गरिएको छ।
परिचयपत्र पुगेको जानकारी सम्बन्धित व्यक्तिको मोबाइलमा पठाइए पनि धेरैलाई यसबारे जानकारी नहुँदा लिन नआएको हुन सक्ने बताइएको छ। अध्ययन तथा रोजगारीका लागि बाहिर रहेकाहरू तथा भौगोलिक विकटताका कारण पनि धेरैले लिन ढिलाइ गरेको अनुमान गरिएको छ।
बैंक खाता खोल्नेजस्ता अत्यावश्यक काममा सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाले प्रशासन कार्यालयले विवरण संकलन जारी राखेको छ। कम्प्युटर अपरेटर सुरेन्द्रदेव भट्टका अनुसार दैनिक ६०–७० जनाले फाराम भरे पनि छपाइ भई आएका परिचयपत्र लिन ८–१० जना मात्र आउने गरेका छन्। बैतडीमा हालसम्म १ लाख २२ हजार ९२० जनाको विवरण संकलन भइसकेको छ।
प्रतिक्रिया दनुहोस्