कैलाली : ‘नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५’ मा सिल्भर मेडल विजेता कैलालीको गोदावरीकी नीतिका अवस्थी अस्ट्रेलियाको सिड्नीमा युनिभर्सिटी अफ न्यु साउथ वेल्स र अस्ट्रेलियन इकोनोमिक्स ओलम्पियाडको संयुक्त आयोजनामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छनोट भएकी छिन । योङ इकोनोमिस्ट सोसाइटी नेपालले आयोजना गरेको छैटौँ संस्करणमा सिल्भर मेडल विजेता गोदावरी नगरपालिका – ४ की नीतिका अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छनोट भएकी हुन ।
काठमाडौँको किङ्स कलेजमा चलेको ओलम्पियाडमा सुदूरपश्चिमाञ्चल एकेडेमीमा अध्ययनरत नीतिका सँगै सेन्ट जेभियर कलेजका रघुवीर श्रेष्ठ, हेटौँडा स्कुल अफ म्यानेजमेन्टका शिवम् मिश्र, जेभियर इन्टरनेसनल कलेजका अक्षत कार्ला र प्रिमियर इन्टरनेसनल कलेजका शुभम बजगाईंले सिल्भर मेडल जितेर अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि छनोट भएका छन् ।
नीतिकाले अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माविबाट २०८० को एसइईमा ४ जिपिए ल्याएकी थिइन । उनी २०८० को एसइईमा सुदूरपश्चिमका सामुदायिक विद्यालयबाट ४ जिपिए ल्याउने एक्ली विद्यार्थी हुन ।
ओलम्पियाडमा सात प्रदेशका १ सय ८७ शैक्षिक संस्थाबाट छनोट भएका १ सय विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा आर्थिक समस्या समाधान गर्ने क्षमता, वित्तीय विश्लेषण र तार्किक क्षमताका आधारमा विजेता चयन गरिएको थियो ।

प्रतिस्पर्धामा बुढानीलकण्ठ स्कुलबाट इशानशेखर खड्का, ट्रिनिटी इन्टरनेसनल कलेजबाट आवाज सिम्खडा, समीप यादव, रोशन सेढाइँ र रातो बंगलाबाट विज्ञान अधिकारीले गोल्ड मेडल जितेका छन् । उनीहरूले अजरबैजानको बाकुमा हुने अन्तर्राष्ट्रिय इकोनोमिक्स ओलम्पियाडमा नेपालको प्रतिनिधित्व गर्ने छन् ।
प्रतिक्रिया दनुहोस्