धनगढी : धनगढीको फाप्लामा जारी एसपिए कैलाली प्रिमियर लिग –३ को पहिलो सेमिफाइनलमा कैलालीको गोदावरी नगरपालिकाको टिम अनुपस्थित भएपछि कञ्चनपुरको पुनर्वास नगरपालिका बी फाइनलमा प्रवेश गरेको छ ।
टस समयसम्म गोदावरीको टिम मैदानमा नआएपछि वाकओभर मार्फत पुनर्वास नगरपालिका बी फाइनलमा प्रवेश गरेको जिल्ला क्रिकेट संघ कैलालीका अध्यक्ष बिक्रम बिस्टले जानकारी दिए । प्रधानमन्त्री कपको प्रदेश छनोटका लागि खेलाडीहरु बैतडी गएपछि खेलाडी अपुग भएर सेमिफाइनल छोड्नुपरेको गोदावरी नगरपालिकाको टिमका म्यानेजर रमेश कडायतले बताए ।
आजै दिउँसो २ बजे दोश्रो सेमिफाइनल दोश्रो समूह सी को विजेता टोली बाजुराको त्रिवेणी नगरपालिका र समूह डी को विजेता टोली भिमदत्तका बीच हुनेछ । फाइनल खेल भने फाल्गुन १४ गते अर्थात भोली दिउँसो १ बजेबाट धनगढीको फाप्ला मैदानमा हुनेछ ।
जिल्ला क्रिकेट संघ कैलालीको आयोजनामा सञ्चालन भैरहेको एसपिए कैलाली प्रिमियर लिगको यो तेश्रो संस्करण हो । तेश्रो संस्करणमा मुख्य प्रायोजक धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी एसपिए रहेको छ । पहिलो संस्करण कैलालीको गोदावरी नगरपालिकाको टिमले जितेको थियो भने दोश्रो संस्करण डडेल्धुराको आलिताल गाउँपालिकाले जितेको थियो ।
प्रतियोगीताको विजेता टोलीले नगद २ लाख,उपविजेता टोलीले नगद १ लाख,सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार,बेष्ट बलर र ब्याटरले जनही १५/१५ हजार,उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको म्यान अफ दी म्याचले नगद पच्चिस सय प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ । सात दिनसम्म सञ्चालन हुने प्रतियोगीतामा पुरस्कार राशी र अन्य गरेर जम्मा २५ लाख बराबर खर्च हुने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्