विराटनगर : नेकपा माओवादी केन्द्रले सुरु गरेको तराई–मधेश जागरण अभियान आज मोरङ प्रवेश गरेको छ। झापाबाट सुरू भएको अभियान आज मोरङ प्रवेश गरेको माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए। खबरदारी अभियानका क्रममा कानेपोखरी गाउपालिकाका विभिन्न चारवटा विद्यालय बन्द गर्न माओवादीले दबाब दिएको छ।
माओवादी केन्द्र कानेपोखरीले विद्यालयलाई पत्र पठाएर पठनपाठन बन्द गर्न दबाब दिएको हो। माओवादी केन्द्रले पल एकेडेमी, बालजगत इङ्लिस बोर्डिङ स्कुल, माउण्ट हर्मोन एकेडेमी र जेनिथ इङ्लिस बोर्डिङ स्कुललाई पत्र पठाएर फागुन १३ गते १ दिन विद्यालय बन्द गर्न दबाब दिएको हो।
पार्टीको गाउँ कमिटीका अध्यक्ष दुर्गाबहादुर कार्कीले फागुन ८ गतेको मितिमा विद्यालयहरुलाई पठाएको पत्रमा गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल , नारायणकाजी श्रेष्ठलगायतका नेताहरुको उपस्थितिमा बृहत् जनसभा कार्यक्रम आयोजना गरिएकाले विद्यालय बन्द गरिदिन भनिएको छ।
पत्रमा भनिएको छ,’मङ्गलबार कानेपोखरी–६ मा आयोजना हुने बृहत जनसभा ९ देखि १ बजेसम्म हुने भएकाले सवारीसाधनको चाप अत्यधिक हुने र उच्च ध्वनि भएका उपकरणहरुको प्रयोगका कारण विद्यार्थीमा ध्वनि प्रदूषण हुने भएकाले विद्यालय बिदा गरी कार्यक्रममा आवश्यक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध छ।’
कार्कीले भने ,‘माओवादीले ४ वटा विद्यालय बन्द गर्न दबाब दिएको भन्दै हल्ला मच्चाएको पाएँ। त्यस्तो हैन बालबालिकालाई असर गर्ला भनेर मात्र कार्यक्रमस्थल नजिकका २ वटा विद्यालयलाई भनेका हौं। दबाब दिएका छैनौं । आग्रह गरेका हौं।’
विद्यालयलाई गरिएको पत्रमा कानेपोखरी–६ रमाइलोमा बृहत जनसभा ९ देखि १ बजेसम्म हुने भएकाले सवारीसाधनको चाप अत्याधिक हुने र उच्च ध्वनि भएका उपकरणहरुको प्रयोगका कारण विद्यार्थीमा ध्वनि प्रदूषण हुने भएकाले विद्यालय बिदा गरी कार्यक्रममा आवश्यक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरिएको छ। अर्कोतर्फ, खबरदारी सभाका लागि रंगेली–कानेपोखरी सडक ढाकेर मञ्च निर्माण गरिएको छ।
सडक छेकेर मञ्च बनाइएपछि सोमबारदेखि नै उक्त सडकमा सवारी आवागमन प्रभावित बनेको स्थानीयले बताएका छन्।
प्रतिक्रिया दनुहोस्