धनगढी । वि.सं. २०३७ सालमा जन्मिएका गणेश जोशी पेशाले शिक्षक हुन् । तर पछिल्ला दिन उनले आफूलाई शिक्षकसँगै सफल व्यवसायीका रुपमा पनि स्थापित गरेका छन् । उनी सफल मात्र छैनन्, बरु धेरैका लागि उदाहरणका पात्रसमेत हुन् ।
जोशीको जन्म डोटीको बोगटान फुड्सिल गाउँपालिका, चाल्समा भएको थियो । पीता नन्दराम जोशी र माता गोमतिदेवी जोशीको कोखबाट जन्मिएका गणेश दुई सन्तानमध्ये कान्छा हुन् ।
जोशीको जन्म सामान्य परिवारमा भएको थियो । आफ्नो बाल्यकाल र विद्यार्थी जीवन गाउँमै बितेको जोशी सुनाउँछन् । पढाईमा पनि अब्बल र उत्कृष्ट जोशी एसएलसी पास गरेलगत्तै शिक्षण पेशामा आबद्ध भएका थिए । उनले वि.सं. २०५३ सालदेखि नै शिक्षण पेशामा आबद्ध भएको बताएका छन् ।
शिक्षण पेशा सुरु गरेसँगै र थप पढाईका लागि डोटीबाट धनगढी झरेको जोशीले बताए । ‘बाल्यकाल र विद्यार्थी दुवै जीवन मेरो गाउँमै बित्यो’, उनले भने, ‘पढाई राम्रै थियो ।’ एसएलसी सकेर २०५३ सालदेखि शिक्षण पेशामा आबद्ध भएँ । विद्यार्थी हुँदै शिक्षक बनेका जोशीले शिक्षकसँगै शिक्षा क्षेत्रको विकास लागि पनि थुप्रै सपना बुन्न थालिसकेको बताउँछन् ।
शिक्षालाई केवल शिक्षा मात्रै नभएर फरक ढंगबाट विकास गर्नुपर्छ भन्ने सोचेका जोशीले अन्ततः २०६० सालमा ग्लोबल एकेडेमी सञ्चालन गरे र शिक्षा क्षेत्रमा नयाँ अभ्यास सुरु गरे ।
तर, सोचेजस्तो राम्रो नतिजा नआएपछि २०६८ सालमा पढाइकै शिलशिलामा काठमाडौँ प्रवेश गरेको जोशीले बताए । त्यसैबीच उनले काठमाडौँको बानेश्वरस्थित शंखमूलमा चैतन्य इन्स्टिच्युट सुरु गरे । जसमार्फत प्रशासनिक क्षेत्रमा थुप्रै विद्यार्थीहरु उत्पादन गरेको उनी बताउँछन् । जोशीको शिक्षा क्षेत्रमा शिक्षण कर्म यति मै रोकिएन । उनले २०७० सालमा काठमाडौँमै चैतन्य एकेडेमी सुरु गरे । चैतन्य एकेडेमीले उनलाई समुदायमा चिनाएन मात्र, बरु सफल व्यक्तिका रुपमा पनि स्थापित गर्यो ।
कर्मथलोका रुपमा काठमाडौँमा गज्जबको माहोल बनाएपछि आफ्नै ठाउँमा गर्नुपर्छ भन्ने लागेर २०७९ सालमा धनगढी फर्किएको जोशीले बताए । धनगढी फर्किएर उनले शिवनगरमा चैतन्य पाठशाला स्थापना गरे ।
सोही पाठशालामार्फत उनले शिक्षा मात्र नभएर प्राविधिक ज्ञान, कला र संस्कृतिमा उत्तिकै योगदान पुर्याउँदै आएका छन् ।
चैतन्य पाठशाला अहिले शिक्षण संस्था मात्र नभएर ब्राण्डका रुपमा स्थापित भएको छ । विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षासँगै सही संस्कार दिने मामला पनि चैतन्य पाठशाला अब्बल छ । यही कारण पनि अहिले धनगढीमा अधिकांश अभिभावकको रोजाईमा चैतन्य पाठशाला पर्ने गरेको छ ।
जोशी स्वयम् आफैँले पनि चैतन्य पाठशालामार्फत गुणस्तरीय शिक्षा प्रदान गरिरहेको दाबी गरेका छन् । उनले शिक्षा क्षेत्रलाई व्यवसाय भन्दा पनि दक्ष जनशक्ति उत्पादन गर्नुका साथै मुलुककै स्वर्णिम भविष्य निर्धारण गर्न सक्ने थलोका रुपमा विश्लेषण गरेका छन् । ‘शिक्षा क्षेत्र नाफा कमाउने ठाउँमात्रै होइन । नाफा कमाउनलाई त अरु व्यवसाय गर्दा पनि हुन्छ । यो त देशको दक्ष जनशक्ति उत्पादन गर्ने र स्वर्णिम भविष्य निर्धारण गर्ने थलो हो’, उनले भने, ‘हामी यही मर्मभित्र रहेर सेवा दिइरहेका छौँ ।’
हाल चैतन्य पाठशालाको उपस्थिति शिक्षा मात्र नभएर खेलकुद, कला, संस्कृति, सामाजिक कार्य लगायतका क्षेत्रमा पनि त्यत्तिकै मात्रामा रहँदै आएको छ ।
प्रतिक्रिया दनुहोस्