दैलेख : दैलेखमा एक ११ वर्षीय बालकको ह*त्या अभियोगमा उनकै दुई जना साथी पक्राउ परका छन् । माघ २५ गतेदेखि घरबाट हराएका दुल्लु नगरपालिकाका ती बालकको हत्या अभियोगमा उनकै दुई साथीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
बालक हराएपछि उनका परिवारले माघ २६ गते इलाका प्रहरी कार्यालय दुल्लुमा निवेदन दिएका थिए । बालक सम्पर्कविहीन हुनुअघि उनीसँग भएका साथीहरुलाई प्रहरीले सोधपुछ गरेपछि आफूहरुले हत्या गरेर घर नजिकको खोला छेउमा खाल्डो खनेर गाडेको बयान दिएका थिए । उनीहरुको बयानका आधारमा आइतबार १४ र १७ वर्षका बालकलाई नियन्त्रणमा लिइएको दैलेखका प्रहरी प्रमुख डिएसपी सुनिल दाहालले जानकारी दिएका छन् ।
पक्राउ परेका दुवै बालकलाई प्रहरीको बाल निगरानी कक्षमा राखेर थप अनुसन्धान भइरहेको छ । पक्राउ गरिएका बालकको बयानका आधारमा खोजतलास गर्दा हराएका ती बालकको शव पुरिएको अवस्थामा भेटिएको थियो ।
‘तीन जना मिलेर कुनै घरबाट सुनको गहना तिलहरी चोरी गरी ल्याएका रहेछन्, बिक्री गर्ने क्रममा विवाद हुँदा साथमा भएका एक बालकको हत्या गरिएको रहेछ,’ पक्राउ परेका बालकको बयान उदृत गर्दै डिएसपी दाहालले भने, ‘हराएकै दिन माघ २५ गते बालकको मृत्यु भएको खुलेको छ, कानुनको विवादमा परेका बालकमाथि थप अनुसन्धान जारी छ ।’
प्रतिक्रिया दनुहोस्