अछाम : सुदूर पहाडमै पहिलो पटक बयालपाटा अस्पतालमा हिप जोर्नीको सफल प्रत्यारोपण भएको छ। जिल्लाको साँफेबगर नगरपालिका– ८ बयालपाटाका ३० वर्षीय निरोज भुलको बायाँ खुट्टा तिरको हिप जार्नेीको सफलप्रत्यारोपण भएको हो।
आर्थिक अभावका कारण तीन वर्षदेखि दुखाई झेलिरहेका भाईको उपचार गराउन नसकेका निरोजका दाई विक्रमले ६ महिना अघि बयालपाटा अस्पतालमा पुगेर भाईको उपचार यँहि गरि दिन भनेर अर्र्थोपेडिक सर्जन डाक्टर मन्दिप पाठकसँग आग्रह गरेका थिए। उनको आग्रह पछि मन्दिपले निरोजको खुट्टाको एमआरआई गरेर आउन भनेका थिए। विक्रमले भाईलाई नपालगञ्ज लिएर एमआरआई गराएर अछाम फर्केका थिए।
निरोजको एमआरआई हेर्दा बाँया खुट्टाको गेठी (हिप) पूर्ण रूपमा मरेको थियो। शल्यक्रियामा संलग्न डाक्टर मन्दिप पाठकले भने, ‘उनको पुरै हिप रिप्लेशमेन्ट (खुट्टाको गोलीगाँठो)को प्रत्यारोपण गर्नुपर्ने थियो। हामीले निरोजको हिप रिप्लेशमेन्ट गर्ने गरी शल्यक्रियाको तयारी ग¥यौँ। बायाँ खुट्टातिर रहेको हिप रिप्लेशमेन्ट गर्न सफल भयौँ।’
डाक्टर मन्दिपको नेतृत्वमा भएको शल्यक्रियामा वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर भाष्करराज पन्त, अर्थोपेडिक सर्जन डाक्टर सन्दिप भण्डारी समेत संलग्न थिए। सुदूर पहाडमै पहिलो पटक बयालपाटा अस्पतालमा भएको शल्यक्रियामा साथ दिन पन्त र भण्डारी हिजो मात्रै काठमाडौँबाट अछाम आइपुगेका थिए।
दुर्गम ठाउँमा पहिलो पटक भएको यो शल्यक्रियामा जोखिम हुन सक्ने र स्रोत साधनले समेत अप्ठ्यारो हुन सक्ने सम्भावनाका बिच डाक्टर मन्दिप नेतृत्वको टिमले सफल शल्यक्रिया गरेको हो।
शल्यक्रियामा संलग्न डाक्टर भाष्करराज पन्तले निरोजलाई एक दिन मात्रै अस्पतालमा राखेर दोस्रो दिन आज हिड्न लगाएर भोलि घर फर्काउने तयारी रहेको बताए। निरोजको पूर्ण जोर्नी प्रत्यारोपणका लागि बयालपाटा अस्पताल पुगेका अर्थोपेडिक सर्जन डाक्टर भाष्करराज पन्तले सुदूरपहाड मै पहिलो पटक यस्तो खालको अप्रेशन बयालपाटा अस्पतालमा भएको बताए।
नेपालका ठुलठुला सेन्टरमा मात्र हुने यो एक प्रकारको ठुलै प्रविधि भएको र यसका लागि आवश्यक पर्ने सबै उपकरण काठमाडौँबाट ल्याइएको उनले बताए। अमेरिकामा बनेको नयाँ कम्पनी जिम्मरको उपकरण यस अप्रशेनमा प्रयोग गरिएको छ, त्यसका लागि प्राविधिक सहयोगी समेत बयालपाटा अस्पताल आएका थिए।
बिरामीलाई अर्ध बेहोस गराई भित्र बिग्रको, खिईएको, हिड्दा अप्ठेरो भएको, छोटो भएको खुट्टाको हिपजोर्नीको हड्डी (गोली गाँठो) काटेर त्यसलाई झिकेर त्यसको ठाउँमा कृत्रिम गेठी राखिएको र त्यसमा गोली गाँठो चल्ने घर (ठाउँ) समेत कृत्रिम बनाईने अप्रेशनभएको पन्तले बताए।
बिरामी एक दिनपछि नै त्यो खुट्टाले टेकेर हिड्न मिल्ने र युवा अवस्थामा यो प्रविधिको प्रयोग गर्दा आगामी दिनमा काम गर्न सहज हुने उनले बताए। लामो समयसम्म टिक्ने बनाईएको शल्यक्रियामा संलग्न अर्का अर्थोपेडिक सर्जन डाक्टर सन्दिप भण्डारीले बताए।
खुट्टाको शल्यक्रिया पश्चात् निरोजको मुहारमाखुसी छाएको छ। उनले निःशुल्क रूपमा शल्यक्रिया गर्न पाएर आफ्नो खुट्टा सन्चो हुने महसुस गरिसकेका छन्। उनले भने, ‘हिजोसम्म त दुखाइ थियो। तर, आज त्यो दुखाइ पनि कम भएको छ।’ आफूले दोस्रो जीवन पाए जत्तिकै खुसी मिलेको निरोजले भने।
‘अप्रेशन कक्षमा लिनु पहिले मनमा डर लागिरहेको थियो,’ निरोज भन्छन्, ‘तर जब अप्रेशन सुरु भयो। मलाई खासै दुखाईको अनुभव नै भएन।’ तीन वर्षदेखि बल्झिरहेको दुखाई अब पूर्ण रूपमा निको हुने आशामा निरोज रहेका छन्।
‘आफ्नो भाईको घर छेउमै सफल शल्यक्रिया हुँदा निरोजका दाई विक्रम पनि हर्षित छन्। नेपालगञ्ज अथवा काठमाडौँ अप्रशेन गर्दा घर खेत बेच्नु पर्थ्यो। तर, आफ्नै घर नजिकै निःशुल्क भाईको उपचार हुँदा एकदमै खुसी लागे छ,’ विक्रम भुलले भने।
डाक्टर मन्दिप भन्छन्, ‘यस्तो प्रकारको शल्यक्रिया दुर्गममा गर्न कठिन भएपनि सम्भव छ। श्रोत साधन हुने हो र सरकारले समेत यसमा साथ दिने हो भने जोर्नीहरू खिइएको, घुँडाको हड्डी खिइएको, कम्मरको हड्डी खिइएका बिरामीको समेत बयालपाटा अस्पतालमै अप्रेशनगर्न सकिन्छ।’
खुट्टा दुखि राख्ने, उकालो उरालो गर्न गाह्रो हुने, ठुलो समान बोक्न अप्ठेरो हुने, राति सुत्दा पनि दुख्ने, शरीरको तल्लो भागमा ज्वरो आउने र ढाड दुख्ने समस्याले निरोज भुललाई ३ वर्षदेखि पीडित रहेका थिए।
७२ वर्षीया चन्द्रकलाको समेत हिपको जोर्नी प्रत्यारोपण
अछामकै चौरपाटी गाँउपालिका– ५ गयलकी ७२ वर्षीया चन्द्रकला खड्काको समेत हिपजोर्नीको सफल प्रत्यारोपण भएको छ। ४ दिन पहिले घरबाट लडेर घाइते भएकी खड्काको समेत हिपको जोर्नी भाँचिएको थियो।
उनको समेत आजै सफल शल्यक्रियाभएको हो। डाक्टर मन्दिप पाठकको नेतृत्वको टोलीले खड्काको अर्ध अहिपजोर्नीको सफल प्रत्यारोपण गरेको छ। उनको गोलीगाँठो फेरिएको हो।
घरबाट लड्दा खुट्टाको हड्डी टुटेको रैछ उनका साथमा आएका ७३ वर्षीया श्रीमान् बज्जिरे खड्काले भने, ‘यहाँ उपचार नभएको भए भारत जानुपर्ने थियो। तर, यही आफ्नै ठाउँमा निःशुल्क उपचार हुँदा निकै खुसी लागेको छ।’
उमेरले पनि वृद्ध अवस्था र त्यसमा पनि विभिन्न समस्याका कारणले झन् बढी जोखिम हुने भए पनि डाक्टर मन्दिपको टिमले उनको शल्यक्रिया गरेको हो। ‘यस्तो अवस्थामा शल्यक्रिया गर्दा रगत धेरै बग्ने भएका कारण अरू जोखिम समेत हुन्छ’, उनले भने, ‘तर, हामीले सफलतापूर्वक उनको शल्यक्रिया गर्न सफल भयौँ।’
बयालपाटामा दैनिक उपचार गराउन आउने बिरामी मध्ये दिनकै ८ देखि १० जना बिरामी यस्तो प्रकारका हड्डी खिइएको बिरामी आउने गरेका उनले बताए। न्याय हेल्थ नेपालको व्यवस्थापन र सञ्चालनमा रहेको बयालपाटा अस्पताल अहिलेकै मोडेलमा सञ्चालनमा हुनु पर्ने पूर्व जिविस सभापति भरत कुमार स्वाँरले बताए।
प्रतिक्रिया दनुहोस्