बैतडी : असोज २५ गते बिहानदेखि बेपत्ता बैतडी पञ्चेश्वर गाउँपालिका- २ डिम्मरकी १७ वर्षीया किशोरीको अवस्था अझै पत्ता लाग्न सकेको छैन । किशोरी हराएको ४ महिना बितिसक्दा पनि उनको अवस्था अज्ञात रहेको छ ।
किशोरी खोजीमा सक्रिय प्रहरी टोलीले अहिलेसम्म कुनै प्रगति गर्न सकेको छैन । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि घटनामा कुनै प्रगति नभएपछि फर्किएको थियो ।
घटनाको अनुसन्धानको लागि उक्त टोली जिल्लामा पुगेको थियो । करिब एक सातासम्म अनुसन्धान गर्दा पनि घटना नसुल्झिएपछि अहिले केन्द्रबाटै उक्त टोलीले घटनासँग सम्बन्धित तथ्य र प्रमाणका विषयमा अनुसन्धान गरिरहेको छ ।
‘बेपत्ता किशोरी अझै फेला पर्नु भएको छैन’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र विष्टले भने, ‘हामीले पनि अनुसन्धान गरिरहेका छौँ । (सीआईबी) को टोलीले फर्कियो । अहिले बरामद मोबाइल लगायत अन्य प्रमाणहरूबाट पनि विश्लेषण र छानबिन गरिरहेको छ ।’
किशोरी बिहान पानी लिन भनी नजिकैको धारातर्फ गएकी थिइन् । उनको ग्यालेन र डोरी भेटिएको छ, तर किशोरीको अवस्था अज्ञात रहेको छ ।
किशोरीलाई बेपत्ता पारेको आरोप महाकाली प्रहरी चौकीका तत्कालीन प्रहरी हबलदार कृष्णराज जोशीमाथि लागेको छ । असोज २५ गते भागेर महाकालीपारि भारतको सुगरखाल पुगेका जोशीलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।
उनी अहिले पूर्वपक्षका लागि थुनामा छन् । उनीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । किशोरीको परिवारले जोशीविरुद्ध व्यक्ति बेपत्ता पार्ने कसुरमा किटानी जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् ।
प्रतिक्रिया दनुहोस्