काठमाडौं : महानगरपालिकाको फोहोर वर्गीकरण गरी व्यवस्थापन गर्नका लागि छ वटा क्षेत्र निर्धारण गरेको छ। फोहोर व्यवस्थापन थप सहज र प्रभावकारी बनाउनका लागि नयाँ व्यवस्थ गर्न लागिएको महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले जनाकारी दिएको छ।
वातावरण विभागको प्रमुख सरिता राईका अनुसार छ वटै क्षेत्रमा एक-एक वटा ट्रान्फर स्टेसन तयार गरी उक्त स्थानबाट फोहोरको अन्तिम व्यवस्थापनको लागि ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लगिनेछ। त्यसका लागि कामपाले ३२ वटा वडालाई भौगोलिक र जनसङ्ख्याको आधारमा क्षेत्र निर्धारण गरेको हो।
स्रोतमा नै वर्गीकरण गरिएको फोहोर मात्रै व्यवस्थापन गरिने राईले बताए। काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा उत्पादित फोहोर ‘ल्याण्डफिल साइट’ बञ्चरेडाँडा लैजाँदा उक्त स्थानमा प्रदूषण बढ्नुको साथै फोहोरमैला संकलन ढुवानीमा खर्च बढ्ने भएकाले वर्गीकृत फोहोर क्षेत्र निर्धारण गरेर व्यवस्थान गर्न लागिएको हो।
यसका लागि कामपाले उत्पादकलाई फोहोर व्यवस्थापनको जिम्मा लागाउने गरेको छ। प्रमुख राईका अनुसार फोहोरमैला व्यवस्थापन ऐन २०६८ तथा काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ अनुसार फोहोर स्रोतमै वर्गीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ। हाल वडा नं ५, १०, २४, २५, २६ र २७ मा स्रोतमै फोहोर वर्गीकरण भइरहेको छ।
अब छिट्टै अन्य वडामा पनि फोहोर वर्गीकरण गरेर मात्रै व्यवस्थापन गर्ने तयारी कामपाको छ। स्रोतमा उत्पादित फोहोरमध्ये २० प्रतिशत बञ्चरेडाँडामा लैजाने र बाँकी सेवा प्रदायकमार्फत व्यवस्थापन गरिनेछ। यसअघि भित्री नौ वडाबाहेक अन्यको फोहोर निजी सङ्घसंस्थाले व्यवस्थापन गर्दै आएको थियो।
हाल काठमाडौँ उपत्यकाको १८ स्थानीय तहबाट दैनिक एक हजार ६०० मेट्रिक टन फोहोर निस्कछ। साविकको सिसडोलमा व्यवस्थापन हुँदै आएको फोहोर उक्त स्थान भरिएपछि विगत साढे दुई वर्षदेखि बञ्चरेडाँडामा व्यवस्थापन गरिँदै आएको छ।
कसरी हुन्छ फोहोर वर्गीकरण ?
भान्छामा कुहिने र नकुहिने गरी दुई किसिमको फोहोर जम्मा भएको हुन्छ। कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो। नकुहिने फोहोर उत्पादक आफैँले बेच्न सक्छन्। कुहिने फोहोर उत्पादकले नै मल बनाउन सकिन्छ। मल बनाउन सकिएन भने कामपाबाट फोहोर सङ्कलन गर्न आएको सवारी साधनमा राखेर पठाउन सकिन्छ।
तरकारी, बढी भएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु, रूखका पात कुहिने फोहोर हुन्। यस्तै प्लाष्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको ब्याग, बोतल, फलाम आदि नकुहिने फोहोर हुन्।
प्रतिक्रिया दनुहोस्