धनगढी । सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम केन्द्रले आपतकालीन सूचना प्रविधि जडान गरेको छ । लुना जिपिएस एप सञ्चालनमा ल्याएर सशस्त्र प्रहरीले उक्त प्रविधि जडान गरेको हो ।
उक्त प्रविधिको प्रयोगमार्फत नारायणघाटदेखि नौबिसेसम्मको सडक खण्डमा विपद्का बेला सशस्त्र प्रहरीसँग सहयोग माग्न मिल्नेछ ।
यस प्रविधिको प्रयोग गरेर सहयोग माग्न चाहने व्यक्तिले लुना एपमार्फत सहयोगका लागि आपिल गर्न सक्नेछन् । त्यसपछि सहयोग चाहिएको व्यक्तिको नाम, सेवाको प्रकार, फोन नम्बर र व्यक्तिको लोकेसन विपद् व्यवस्थापन तालिम केन्द्रमा रहेको लुना आपतकालीन सूचना प्रविधिको स्क्रिनमा देखाउँछ । उक्त तालिम केन्द्रको कन्ट्रोल रुममार्फत उद्धार तथा सहयोगका लागि पठाइएको टोली कहाँ पुग्यो ? भन्ने पनि हेर्न मिल्ने सशस्त्र प्रहरीले जनाएको छ ।

कसरी प्रयोग गर्ने ? सेवा लिन के गर्ने ?
सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन केन्द्रले सुरु गरेको उक्त सेवा लिन सुरुमा मोबाइलमा लुना जिपिएस नामक एप्लिकेशन डाउनलोड गर्नुपर्छ । यो एप प्ले स्टोर र एप स्टोर दुवैमा उपलब्ध छ ।
एप्लिकेशन डाउनलोड गरिसकेपछि एप्लिकेशन ओपन गरेर देशमा नेपाल छनोट गरेर आवश्यक विवरण उल्लेख गरी खाता खोल्नुपर्छ । त्यसप्रश्चात एप्लिकेशनमा राखिएको नम्बरमा आएको ओटिपी प्रयोग गरी युजर र पासवर्ड राख्नुपर्नेछ । त्यसपछि एप्लिकेशनको तल्लो भागमा रहेको एसओएसमा क्लिक गरी केवाईसी विवरण भेरिफाई गराउनुपर्छ । एकपटक केवाईसी भेरिफाई भएपछि पुनः एसओएसमार्फत सहयोग माग्न सकिनेछ ।

आपतकालीन सूचना प्रविधिले कसरि काम गर्छ ?
लुना एप्लिकेशनले सहयोग माग्न चाहने व्यक्तिको सम्पूर्ण जानकारी इन्टरनेटको प्रयोगबाट नजिकैको सम्बन्धित निकायलाई पठाउँछ । यदि इन्टरनेट छैन भने पनि एप्लिकेशनबाट एसएमएसमार्फत जानकारी पठाउन सकिन्छ । यसरी प्राप्त जानकारीका आधारमा सशस्त्र प्रहरीले आवश्यकताका आधारमा उद्धार तथा सहयोगका लागि टोलि परिचालन गर्छ । तर, यो सेवा हालका लागि नारायणगढदेखि नौबिसे सडकखण्डमा मात्रै सञ्चालित छ ।

एप्लिकेशनमार्फत पठाइएको जानकारी विपद् व्यवस्थापन तालिम केन्द्रमा कसरी पुग्छ ?
ससस्त्र प्रहरी बल, नेपाल विपद व्यस्थापन तालिम केन्द्र कुरिनटारमा उक्त एप्लिकेशनको रिसिभर राखिएको छ । जहाँ सूचना मनिटरिङका लागि स्क्रिन, साइरन र पोटल राखिएको छ । जहाँ सम्बन्धित व्यक्तिको विवरणहरु डिस्प्ले गरिन्छ ।
यदि कसैले लुना एप्लिकेशनको प्रयोग गरेर सहयोग मागे केन्द्रमा साइरन बन्न थाल्छ । लगत्तै केन्द्रमा राखिएको स्क्रिनमा सहयोग माग्ने व्यक्तिको नाम, फोन नम्बर, लोकेसनसँग के का लागि सहयोग मागिएको हो ? भन्ने विवरण देखाउँछ र सोही विवरणका आधारमा सहयोग पठाइन्छ । उक्त सेवा लिन सुरुमा एप्लिकेशन डाउनलोड गर्न, खाता खोल्न र केवाईसी भेरिफाई गराउन इन्टरनेट चाहिन्छ । त्यसप्रश्चात भने अफलाइन सेवा पनि लिन सकिने विपद व्यवस्थापन केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्