डडेल्धुरा : आलिताल गाउँपालिकामा नव निर्मित प्रहरी चौकी भवन सञ्चालनमा आएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण भएको दुई तले भवन बिहीबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो ।
पालिका अध्यक्ष शेरसिंह पार्कीले सुदूरपश्चिमका प्रहरी महानिरीक्षक (डीआईजी) गणेश चन्दलाई भवनको साँचो हस्तान्तरण गरे । आलिताल गाउँपालिका–५ भीमदत्तपुरमा रहेको सो प्रहरी चौकी भवन निर्माणमा करिब ७६ लाख रुपैयाँ लागत लागेको छ ।
हस्तान्तरण कार्यक्रममा डीआईजी चन्दले समुदायको सुरक्षामा प्रहरी निरन्तर खटिरहने बताउँदै प्रहरी सेवासँग सम्बन्धित कुनै गुनासो भए आफूलाई प्रत्यक्ष जानकारी गराउन आग्रह गरे । उनले सुरक्षाका लागि नागरिक सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै समुदाय–प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष पार्कीले गाउँपालिकाले सुरक्षाका लागि आवश्यक पूर्वाधार विकासलाई प्राथमिकता दिने बताए । उनले प्रहरीको सेवा विस्तारमा स्थानीय तहले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाउँदै सामाजिक उत्तरदायित्व निर्वाहका क्रममा सुरक्षासँग सम्बन्धित विषयमा सहकार्य गर्न तयार रहेको उल्लेख गरे । नयाँ भवन सञ्चालनमा आएपछि स्थानीयले थप सुरक्षित अनुभूति गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दनुहोस्