बैतडी : बैतडीको पाटन नगरपालिका– ३ मा रहेको बनारसी धाम मन्दिरमा भोली (शुक्रबार) जात्रा लाग्ने भएको छ । दलित समुदायका पुजारीले पुजा गर्ने उक्त मन्दिरमा प्रत्येक वर्ष झै यसवर्ष पनि माघ शुक्ल दशमीका दिन जात्रा लाग्ने भएको हो ।
माघ शुक्ल पक्षको प्रतिपदाबाट पूजाआजा शुरु भइ माघ शुक्ल दशमीका दिन वनारसी मन्दिरमा जात्रा लाग्ने गरेको बताईएको छ । उक्त मन्दिरमा दलित समुदायका पूजारीले पूजा गरिसकेपछि सबै समुदायका दर्शनार्थीले प्रसाद र टीका ग्रहण गर्ने चलन रही आएको छ ।
वनारसी मन्दिरमा परापूर्वकालदेखि दलित समुदायका पूजारीले पूजाआजाको काम गर्दै आएका छन् । वनारसी धाममा लाग्ने जात्रामा हजारौं दर्शनार्थीहरु सहभागी हुने गरेका छन् । उक्त जात्रामा बैतडीका मात्रै नभएर टाढाका भक्तजनहरुको समेत सहभागिता रहने गरेको छ ।
वनारसी मन्दिरमा १२औं शताब्दीबाटै जात्रा हुने गरेको स्थानीयबासी बताउँछन् । सोही बेलादेखि सो मन्दिरमा सबै समुदायका मानिस एकै ठाउँमा बसेर पूजाआजा गर्ने गरेको किम्बदन्ती रहेको छ । देवता र दैत्यबीच लडाईँ हुँदा खोपरे नामक दैत्यलाई वनारसी देवताले मारेको किम्वदन्ती रही आएको छ । सोही समयदेखि वनारसी देवतालाई शक्तिशाली देवताको रुपमा पूजाआजा गर्ने चलन रही आएको छ ।
नगरपालिकामा बिदा
यसैबीच जात्राको अवसरमा पाटन नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै शुक्रबार वनारसी धाममा लाग्ने जात्राको अवसरमा पालिकाभरीका सार्वजनिक बिदा दिएको हो ।
वनारसी धाम विश्वनाथ ज्योतिर्लिङ्गमा लाग्ने जात्राको अवसरमा शुक्रबार पालिकाभरीका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था, बैंक तथा बित्तीय संस्थाहरुमा बिदा दिएको नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।
प्रतिक्रिया दनुहोस्