कैलाली : कैलालीको गोदावरी नगरपालिका – १ र ६ मा खानेपानी वितरण गर्दै आइरहेको बडेहा बिजौरा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको नयाँ नेतृत्व चयनका लागि यही माघ २६ गते निर्वाचन हुँदै छ । सो निर्वाचनमा ५ जनाले अध्यक्षमा दाबेदारी पेस गरेका छन् । जसमा चेतराज पन्त, मान बहादुर बलायर, बल बहादुर चौधरी, रमेश प्रसाद भट्ट र रमेश बलायर रहेका छन् ।
अध्यक्षमा ५ जना उम्मेदवारी परेको भए पनि चेतराज पन्त बाहेकका अध्यक्ष पदका उम्मेदवारले बाकी पदाधिकारी र सदस्यमा भने आफ्ना उम्मेदवार उठाएका छैनन् । जसले गर्दा अहिले सदस्य पदमा उम्मेदवारी दिएकाहरूलाई आ–आफ्नो प्यानलमा तान्ने होडबाजी चलेको छ ।
उपाध्यक्षका लागि ३ जना, सचिव र कोषाध्यक्षका लागि २–२ जना र ७ जना सदस्यका लागि ११ जनाको मात्रै उम्मेदवारी परेको छ । सदस्य थोरै प्रतिस्पर्धी हुँदा अहिले तानातानमा परेका छन् ।
अध्यक्षका उम्मेदवारले बिना जानकारी आफ्नो प्यानलमा राखी प्रचार प्रसार गरिएको भन्दै सदस्य पदका उम्मेदवारले विरोध समेत जनाएका छन् । अध्यक्षका उम्मेदवार चेतराज पन्तको प्यानलमा रहेका ३ जनाले अहिले अर्का अध्यक्षका उम्मेदवार मान बहादुर बलायरले आफ्नो समूहमा नाम राखेको भन्दै विरोध जनाएका छन् ।
पन्त प्यानलबाट सदस्य पदका उम्मेदवार इन्द्र बहादुर थापा, लाल बहादुर मल्ल र निर्मला ताम्राकार (बिक) ले आफ्नो सहमति बिनै आफ्नो नाम बलायर प्यानलमा राखिएको भन्दै विरोध जनाएका हुन ।
सदस्य पदका उम्मेदवार थापाले आफूले नाइँ भन्दा भन्दै पनि बलायर समूहले आफ्नो ब्यानरमा नाम समावेश गरेको बताए । उनले आफ्नो आधिकारिक प्यानल समावेशी सहितको पन्त समूह भएको बताए । ‘उहाँहरूले आफ्नो सदस्यहरू नपाएर हो कि के हो, टिममा राख्दिनुभएको रैछ’ उनले भने ‘फोन गरेर फोटो माग्नुभयो, हामीले आफ्नो प्यानल छदै छ हुँदैन भनेका हौ, तर पनि प्यानलको ब्यानरमा नै हाम्रो नाम र फोटो आएको छ ।’ उनले आफ्नो पन्त समूहको प्यानल नै आधिकारिक भएकाले सबैलाई भ्रममा नपर्न आग्रह गरे ।
अर्का उम्मेदवार लाल बहादुर मल्लले करिब एक महिनादेखि आफूहरू पन्त समूहको प्यानलमै रहेको बताए । उनले सहमति बिनै नाम प्यानलमा राख्ने कार्य निन्दनीय भएको समेत बताए । ‘हामी यो प्यानलमा एक महिनादेखि लागेका छौ’ उनले भने ‘हिजो राती १० बजे प्यानलमा राख्छौ भनेर फोन आयो, अन्तिम अवस्थामा आएर टिममा राख्छौ भन्दा हामीले हाम्रो आफ्नो आधिकारिक प्यानल छदै छ हुँदैन भनेका हौ ।’ उनले आफूहरूले हुँदैन भन्दा पनि नाम आएको देखेर आफूलाई नै अचम्म लागेको बताए । उनले त्यसरी सहमति बिनै नाम समावेश गरिनु गलत भएको बताए । उनले पनि आफू पन्त समूहको प्यानलमा नै आधिकारिक उम्मेदवार भएकाले अर्को समूहमा नाम आयो भनेर दोधार नहुन मतदाताहरूलाई आग्रह गरे ।
पन्त समूहमा सदस्य पदकी अर्की उम्मेदवार निर्मला ताम्राकार बिक ले त आफ्नो जानकारी बिनै नाम समावेश गरिएको बताइन । उनले नाम राख्न तथा फोटो माग्नका लागि समेत फोन नआएको बताइन् । ‘उहाँहरूलाई त कमसेकम फोटो माग्नलाई भए नि फोन आएको रैछ’ उनले भनिन् ‘मलाई त जानकारी नै थिएन, आज अकस्मात् मेरो नाम अर्को समूहको प्यानलमा देखेको हु ।’ उनले मेरो जानकारी बिनै मतदातालाई भड्काउने किसिमले नाम समावेश गरिएको भन्दै आपत्ति जनाइन् । तिनै जनाले आफूहरू पन्त समूहकै प्यानलमा रहेकाले भ्रममा नपरी मतदान गर्न समेत आग्रह समेत गरेका छन् ।
प्रतिक्रिया दनुहोस्