काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा बयान दिन उपस्थित भएका छन् । मंगलबार सहारा चितवन सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा उनीविरुद्ध मुद्दा दर्ता भएपछि उनी आज अदालत पुगेका हुन् ।
जिल्ला अदालत चितवनका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार लामिछानेको बयान लिने प्रक्रिया सुरु हुन लागेको छ । बयानपछि थुनछेक बहस हुनेछ, जसको आधारमा न्यायाधीशले उनलाई साधारण तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा थुनामा पठाउने निर्णय गर्नेछन् ।
लामिछानेविरुद्ध ठगीसम्बन्धी कसुरमा चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको छ । यसअघि, कास्की, काठमाडौं, र रुपन्देही जिल्लामा पनि संगठित अपराधको आरोपमा उनीविरुद्ध मुद्दा दर्ता भएका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले मंगलबार दर्ता गरेको पूरक अभियोजनमा लामिछानेमाथि ठगी कसुरमा मात्र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा २४९ को उपदफा १ र २ विपरीत कसूर गरेको अभियोग लगाइएको छ ।
साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी भएको भनिएको जम्मा रकम ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलव ४७ रहेको छ । हाल जाहेरी परेको रकम ३८ करोड नौ लाख ७९ हजार एक सय ७७ क्षतिपूर्ति भराउन मागदाबी गरिएको छ । ५२ करोडमध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप रू १४ करोड २३ लाख छ हजार एक सय ३१ दशमलव ४७ जाहेरी परेका बखत पुनः पूरक अभियोग जाहेर हुनेगरी अभियोग दाबी गरिएको छ ।
प्रतिक्रिया दनुहोस्