धनगढी । दिनहूँजसो कैलालीका विभिन्न ठाउँबाट मोटरसाइकल चोरीका घटना सार्वजनिक भइरहेका बेला चोरीमा संलग्नलाई प्रहरीले नै उन्मुक्ति दिने गरेको आरोप लागेको छ । पछिल्ला केही घटनाक्रमले प्रहरीले चोरलाई उन्मुक्ति दिन्छन् भन्ने आरोपलाई थप पुष्टि गरेको देखिन्छ ।
घटना नम्बर १ः
गत भदौ १३ गते धनगढी उपमहानगरपालिका बोराडाँडीस्थित दिनेश एफएमको गेट बाहिर राखिएको सुदूरपश्चिम प्रदेश ०१-०१०-५६२० नम्बर (२२० सीसी)को पल्सर बाइक चोरी भएको थियो ।
मोटरसाइकल चोरी भएसँगै गरिएको अनुसन्धानका क्रममा उक्त मोटरसाइकल धनगढी उपमहानगरपालिका ७ मनेहराका २२ वर्षीय गोबिन्द राना र कञ्चनपुरको पुनर्वास नगरपालिका १० विकास बस्तीका निराजन राना (किसन) सहितको समूहले चोरेको खुलेको थियो ।
मोटरसाइकल चोरीको घटनापछि सवारी धनी कमल साउँदले प्रहरीमा उजुरीसमेत दिएका थिए । तर चोरीमा संलग्नलाई पक्राउ गरिएको भए पनि जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत एक प्रहरी असईले चोरलाई लगत्तै छोडेको आरोप लागेको छ । ती प्रहरी असईमाथि तस्करसँग बार्गेनिङ गरेर चोरलाई उन्मुक्ति दिएको आरोप छ ।
त्यसो त भदौ १३ गते चोरी भएको उक्त मोटरसाइकल तस्करहरुले भदौ १४ गते नै धनगढी उपमहानगरपालिका १४ स्याउले बजार हुँदै मोहना नदिबाट डुंङ्गामार्फत भारतको सीमावर्ती क्षेत्र सुडा बजार पुर्याएको पाइएको थियो । डुङ्गा चालकले पनि उक्त मोटरसाइकल डुङ्गामार्फत तारेर पठाएको बताएका छन् । त्यसको केही दिनपछि (भदौ १८ गते) जिल्ला प्रहरी कार्यालय कैलालीका आरआइटीका इन्चार्जसमेत रेका असई गजेन्द्र चन्दले तस्करहरुलाई भेटेको खुलेको छ । तर उनीहरुलाई पक्राउ गर्नुको सट्टा प्रहरीले बार्गेनिङ्ग गरेर भगाएको सवारी धनी साउँदले आरोप लगाएका छन् ।
साउँदका अनुसार मोटरसाइकल चोरीमा संलग्नको पहिचान आफैँले गरेर असोज २७ गते गोबिन्द राना र किसनको नाममा किटानी जाहेरी नै दिएका थिए । पछि पुष महिनामा किसन प्रहरीको सम्पर्कमा आएका थिए । उनले प्रहरीसमक्ष प्रहरीले चोरीमा संलग्न भनिएका गोबिन्दबाट पैसा लिएर आफूलाई मात्र दुःख दिइरहेको बताएका थिए । यसले चोरलाई उन्मुक्ति दिने कार्यमा स्वयम् प्रहरीको मिलेमतो छ भन्ने कुरालाई थप पुष्टि गरेको छ ।
अर्कोतर्फ किसनलाई प्रहरीले प्रमाण नपुगेको भन्दै पुनर्वास नगरपालिकाकी उमप्रमुख भुलिया कुमारी रानाको दबाबमा छोडिएको दाबी गरिएको छ ।

त्यसलगत्तै पत्रकारसमेत रहेका सवारी धनी साउँदले स्वयम् प्रहरीले चोरलाई उन्मुक्ति दिएको भन्दै प्रदेश प्रहरी प्रमुख (डिआईजी) गणेश चन्द र प्रमुख जिल्ला अधिकारी गोगन हमाललाईसमेत निवेदन बुझाएका छन् । दुवैले उक्त विषयमा जिल्ला प्रहरी कार्यालयसँग जवाफ मागेको बताइएको छ ।
प्रहरीको रबैयाविरुद्ध धर्नामा पत्रकार
त्यसो त पटकपटक प्रहरी कार्यालय धाउँदा र आवश्यक प्रमाण बुझाउँदा पनि प्रहरीले चोरी संलग्नहरुलाई कारवाही प्रक्रिया अगाडि नबढाएपछि पत्रकारसमेत रहेका सवारी धनी साउँद पुष ८ गते जिल्ला प्रहरी कार्यालय अगाडि धर्ना बसेका थिए । त्यसपछि पत्रकार र प्रहरीबीचको सहमतिपछि साउँदले धर्ना स्थगित गरेका थिए ।
पत्रकार र प्रहरीबीच भएको सहमतिअनुसार चोरीमा संलग्नलाई पक्राउ गरी कारवाही गर्ने सहमति भएको थियो । तर पनि प्रहरीले उक्त घटनामा संलग्नलाई अझै पक्राउ गरेको छैन ।
प्रहरीको भनाई यस्तो…
यता जिल्ला प्रहरी कार्यालय कैलालीले भने चोरीमा संलग्नहरुको खोजीकार्य भइरहेको जनाएको छ । कैलाली प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कबिन्द्र बोहोराले सिभिल टोली खटाएर खोजी गरिरहेको र तस्करसँग मिलेमतोको प्रमाण भेटिए संलग्न प्रहरीलाई पनि विभागीय कारवाही गर्ने बताएका छन् ।
‘किसनबाट बयान गरिएको हो । तर प्रमाण फेला परेन । उसले पनि संलग्नताबारे केही स्वीकारेको छैन । बलियो प्रमाण फेला नपरेपछि मुद्दा चलाउन सकिएन ।, डिएसपी बोहोराले भने ।
प्रतिक्रिया दनुहोस्