काठमाडौं : अमलाको चटनी खानुभएको छ ? कि साँधेको अचार मात्र ? अमला यस्तो चिज हो जसलाई जुनसुकै प्रकारमा खाए पनि स्वास्थ्यका लागि लाभदायक हुन्छ।
यसमा प्रशस्त मात्रामा भिटामिन सी, एन्टीअक्सिडेन्ट र अन्य पोषक तत्वहरू पाइन्छन्। यी तत्वहरूले प्रतिरक्षा प्रणाली (इम्युनिटी) बलियो बनाउने काम गर्छन्।
आज हामी तपाईंलाई अमलाको हरियो चटनी बनाउने विधि बताउँदैछौं। यसको चटपटे स्वादले सबैलाई लोभ्याउँछ। यो केवल स्वादिष्ट मात्र होइन, शरीरलाई पोषण पनि दिन्छ उत्तिकै महत्त्वपूर्ण छ। यसको पिरो र अमिलो स्वादले खाना झनै खाउँ खाउँ लाग्ने बनाउँछ। यो चटनी बनाउन सजिलो छ। यसलाई रोटी, पराठा, पुरी, कचौडी वा कुनै पनि परिकारसँग खान सकिन्छ।
सामग्री के के चाहिन्छ?
अमला – १० वटा (झन्डै २५० ग्राम)
सुख्खा धनियाँ – १ चम्चा
जिरा – १ चम्चा
बोक्रा निकालेको मासको दाल – १/२ चम्चा
घ्यू – १ चम्चा
लसुन – ५–६ गोटा
हरियो खुर्सानी – ५–६ वटा
सुक्खा रातो खुर्सानी – ५–६ वटा
नुन – स्वादअनुसार
पानी – आवश्यकतानुसार
धनियाँको पात – स्वादअनुसार
बनाउने विधि :
अमला तयार पार्ने
ताजा अमला लिनुहोस् र यसलाई २–३ पटक सफा पानीले राम्ररी धुनुहोस्। चक्कुको सहयोगले साना टुक्रामा काट्नुहोस्।
मसला भुट्नुहोस्
प्यानलाई मध्यम तापक्रममा राख्नुहोस्। त्यसमा १ चम्चा सुख्खा धनियाँ, १ चम्चा जिरा, १/२ चम्चा बोक्रा निकालेको मासको दाल र १ चम्चा घ्यू हालेर हल्का भुट्नुहोस्।
भुटिसकेपछि त्यसमा ५–६ गोटा लसुन, ५–६ हरियो खुर्सानी र ५–६ सुक्खा रातो खुर्सानी थपेर हल्का भुट्नुहोस्।
अमला पकाउनुहोस्
जब खुर्सानी र लसुन भुटिन्छ, तब त्यसमा काटेको अमला राखेर राम्ररी मिक्स गर्नुहोस्। यसमा स्वादअनुसार नुन र थोरै पानी थपेर २–३ मिनेट ढकनीले छोपेर मध्यम तापक्रममा पकाउनुहोस्।
जब अमला आधा पाक्छ, यसको तीतोपना हट्छ।
अनि पिस्नुहोस्
अमला हल्का पाकिसकेपछि प्लेटमा निकालेर सेलाउन दिनुहोस् दिनुहोस्। चिसो भएपछि मिक्सरमा राख्नुहोस्।
त्यसमा धनियाँ पात र थोरै पानी थपेर पिस्नुहोस्। चाहनुहुन्छ भने यसमा तोरीको तेल र कागतीको रस पनि मिलाउन सक्नुहुन्छ। अनि बन्नेछ गज्जबको चटनी ! जसलाई तपाईं स्वाद मानीमानी खानुहुनेछ ।
प्रतिक्रिया दनुहोस्