काठमाडौं : सहिदहरूको सम्झनामा बिहीबारदेखि सहिद सप्ताह सुरु भएको छ । काठमाडौं महानगरपालिकाको समन्वयमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म सहिदहरूलाई स्मरण गरेर सहिद सप्ताह मनाउने गरिन्छ । सहिद सप्ताहको पहिलो दिन बिहीबार शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको टेकुस्थित उनको सालिकमा माल्यार्पणका साथ श्रद्धाञ्जली अर्पण गरिएको छ ।
शुक्रराज शास्त्रीको सालिकमा माल्यार्पण गर्दै काठमाडौं महानगरका उपप्रमुख सुनिता डंगोलले शुक्रराज शास्त्रीले जनाधिकार प्राप्तिका लागि गरेको त्याग र नेपालको साहित्यिक क्षेत्रमा गरेको योगदानको स्मरण गरे । विसं १९५० मा बनारसमा जन्मिएका शुक्रराज शास्त्री धार्मिक गतिविधिमार्फत जहानियाँ शासनविरुद्ध जागरण अभियानमा सक्रिय थिए ।
उनलाई काठमाडौंको इन्द्रचोकबाट पक्राउ गरेर जेलमा राखिएको थियो । राणा सरकारले उनलाई १९९७ माघ १० गते टेकु पचलीस्थित खरीबोटमा झुन्ड्याएर मृत्युदण्ड दिएको थियो । देशका लागि जीवन बलिदान गर्ने सहिदहरूको सम्मानमा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ ।
प्रतिक्रिया दनुहोस्