काठमाडौं : भारतको महाराष्ट्रमा रहेको जलगाउँमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेमध्ये ७ जना नेपाली रहेको खुलेको छ । मृत्यु हुनेमा अछामको बिनायकका नन्दराम विक, सोही ठाउँकै हिमु नन्दराम विक, अछामको कमलबजारका जयकला भट्ट, अछामकै मैसरा विक र कैलालीकी कमला भण्डारी रहेका छन् ।
त्यस्तै नेपालको ठेगाना नखुलेका राधेश्याम भाइ, लच्छिराम कन्नु पासवानको पनि मृत्यु भएको प्रवास नेपाली सम्पर्क विभाग कर्नाटक प्रमुख दिपक राज आचार्यले जानकारी दिएका छन् । अन्य मृतकको पहिचान नखुलेकाले यो संख्या बढ्नसक्ने बताइएको छ । हिजो लखनऊबाट मुम्बई जाँदै गरेको रेल जलगाउँमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो । दुर्घटना परेर ४० जनाभन्दा धेरै घाइते भएका छन् ।
अधिकारीहरुका अनुसार बुधबार पुष्पक एक्सप्रेसको रेलमा आगो लागेको हल्ला फैलिएपछि एक यात्रुले इमर्जेन्सी रुपमा रेल रोक्नका लागि प्रयोग गरिने सिक्री तानेका थिए । त्यसपछि रेल रोकिनासाथ यात्रुहरु ओर्लिएर अर्को लिकतर्फ भागेका थिए । त्यही क्रममा विपरीत दिशाबाट आएको कर्नाटक एक्सप्रेस रेलले उनीहरुलाई किचेको थियो । दुर्घटना भएको स्थान नजिक घुम्ती भएकाले पनि यात्रुहरुले विपरीत दिशाबाट आइरहेको रेल नदेखेर ठुलो मानवीय क्षति भएको अनुमान गरिएको छ ।
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारले बिहीबार पुष्पक रेलमा आगलागी भएको हल्ला चिया बेच्ने व्यक्तिले फैलाएको बताएका छन् । त्यहाँका रेलमन्त्री अश्विनी वैष्णवले मृतकका परिवारलाई प्रतिव्यक्ति भारू १.५ लाख, गम्भीर घाइतेलाई प्रतिव्यक्ति ५०,००० र सामान्य घाइतेलाई ५,००० रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।
प्रतिक्रिया दनुहोस्