धनगढी । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको साधारण सभा सम्पन्न भएको छ । बुधबार धनगढीको इमेज होटेलमा संघको छैठौं साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाले सचिव तथा कोषाध्यक्षको वार्षिक प्रतिवेदन पारित गरेको छ भने पोखरामा यहि माघ ११ र १२ गते सम्पन्न हुन गैरहेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको वार्षिक साधारण सभामा सहभागी हुने जिल्ला तथा प्रदेशका प्रतिनिधिहरुको नाम अनुमोदन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष संजय कुमार चौधरीले व्यवसायी साथीहरुको हकहितका लागि आफू जहिले पनि सहयोग गर्न तयार रहेको बताए । उनले पछिल्लो समय देशमा चलेको आर्थिक मन्दीका कारण व्यवसायीहरु मारमा परेको भन्दै व्यवसाय टिकाउन सके एकदिन ठिक समय आउने र आज व्यहोरेको घाटा अवश्य पुर्ति हुने बताएका छन । साधारण सभामा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष मेखराज दहाल,सल्लाहकार समिति संयोजक तथा कैलाली जिल्लाका पूर्व अध्यक्ष वेद प्रकाश चुवाइ र कञ्चनपुर जिल्लाका अध्यक्ष गुणाकर अवस्थीले शुभकामना व्यक्त गरेका थिए ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष संजय कुमार चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभाको अध्यक्षता नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष श्याम पाठकले गरेका थिए ।
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका सचिव निलम राज जोशीले सञ्चालन गरेको कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय सदस्य योगेन्द्र बहादुर शाही लगायत नेपाल पुस्तक तथा स्तेशनरी व्यवसायी संघ कैलाली,कञ्चनपुर र अछाम शाखाका पदाधिकारी,सदस्यहरु तथा क्रियाशिल व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
सहभागी अतिथिलाई मायाको चिनोको रुपमा पुस्तक उपहार
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको साधारण सभामा सहभागी अतिथिहरुलाई मायाको चिनो स्वरुप पुस्तक उपहार प्रदान गरिएको छ । महासंघले पठन संस्कृति हराउँदै गइरहेको र यस्ताखाले कार्यक्रम मार्फत पठन संस्कृतिको विकासका लागि समाजमा सकारात्मक सन्देश जाओस भनेर अतिथिहरुलाई मायाको चिनोको रुपमा प्रेरणादायी पुस्तक उपहार दिएको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष श्याम पाठकले बताए । पछिल्लो समय धनगढी लगायत सुदूरपश्चिममा आयोजना हुने विभिन्न कार्यक्रममा मायाको चिनोको रुपमा पुस्तक उपहार दिने प्रचलन दढ्दै गैरहेको छ ।
प्रतिक्रिया दनुहोस्