काठमाडौं : आईसीसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा नेपाल आफ्नो तेस्रो खेलमा अष्ट्रेलियासँग ८३ रनले पराजित भएको छ।
मलेसियाको बांगीमा बुधबार अष्ट्रेलियाले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको नेपाल जम्मा ५६ रनमै समेटियो ।
नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन बनाउँदा अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।
एलिसा यादवले ९, साना प्रविनले ८, सावित्री धामीले ७, सिमाना केसीले ६ रन बनाउँदा तिर्सना विश्वकर्मा १ रनमा आउट भइन्।
लगातार तेस्रो हारसँगै नेपाल सुपरसिक्समा प्रवेश गर्न नसकी प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ । समूह ‘डी’ मारहेका चार टिममध्ये अष्ट्रेलिया, स्कटल्याण्ड र बंगलादेश सुपरसिक्समा पुग्दा नेपाल भने असफल भयो। नेपालले समूहका सबै टिमसँगको खेल हारेको छ।
नेपाल बंगलादेशसँग ५ विकेट र स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो।
तेस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३९ रन बनाएको थियो । उसका लागि काओमी ब्रेले सर्वाधिका ४५ रनको योगदान गरिन्। इलेनोर लारोसाले ३१ रन बनाउँदा हसरत गिल ३० रनमा अविजित रहिन्।
नेपालकी कप्तान पूजा महतोले सर्वाधिक ३ विकेट लिइन् भने सिमाना केसीले २ र रिया शर्माले एक विकेट खसालिन्।
प्रतिक्रिया दनुहोस्