धनगढी: “भन्छन् नि पश्चिममा सूर्य पनि अस्ताउन मात्रै आउँछ यस्तै नियति भोगिरहेको छ पश्चिम नेपालको जल पर्यटनले । कतिपय व्यापारीले त नेपालमा जलयात्राको युग सकिन लागेको तर्क गरिरहेका छन्, जबकि पश्चिम नेपालमा जल पर्यटनलगायत समग्र पर्यटन क्षेत्रमा व्यावसायिक युग सुरु नै भएको छैन”, व्यवसायी जनेश भण्डारीको भनाइ हो यो ।
उनि पूर्वी क्षेत्रमा विभिन्न कारणले जलयात्रा (र्याफ्टिङ) सङ्कटमा पर्न थालेको भनेर चिन्ता व्यक्त भइरहँदा ‘भर्जिन’ क्षेत्रका रूपमा रहेको पश्चिम नेपाल, विशेषगरी सुदूरपश्चिममा यसको व्यावसायिक विकासका लागि गम्भीर विमर्श हुनै नसकेको धारणा राख्नुहुन्छ । “विभिन्न मञ्च र संवादमा पूर्वतिर काम गरिरहेका व्यवसायीहरूले जलयात्राको युग सकिन लागेको भनेर चिन्ता व्यक्त गर्छन् । सुदूरपश्चिममा भने अझै व्यावसायिक युग सुरु भएन”, कर्णाली नदीको बाजुराखण्डमा र्याफ्टिङ सञ्चालन गरिरहेका व्यवसायी भण्डारी भन्नुहुन्छ,“राज्यले सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनका लागि लगानी र प्रचारप्रसार नै गर्न सकेको छैन । व्यवसायीले पनि पूर्वमा मात्रै गतिविधि गर्ने र केही समस्या भएमा पलायन हुने तर सुदूरका सम्भावनाबारे चासो नराख्ने समस्या यथावत छ । म त भन्छु धेरै कुरा पूर्वमा सुरु हुन्छ, त्यतै अन्त्य हुन्छ । जलपर्यटनको हल्ला पनि यही हो ।”
अर्का व्यवसायी देवराज जैशी विगतमा भूगोल र सम्पर्क सञ्जालको अभावका कारण सुदूरपश्चिमलगायत पश्चिम क्षेत्र ओझेलमा परे पनि अब त्यो अवस्था नरहेकाले राज्यले गन्तव्य सुदूरपश्चिमको नीतिअनुसार काम गरेमा समग्र देशले नै लाभ लिनसक्ने बताछन्। “जलयात्राका हिसाबले विश्वप्रसिद्ध कर्णाली, महाकाली, सेती कर्णाली, बुढिगङ्गालगायत नदीहरू र खप्तड, बढिमालीका, रामारोशन, शुक्लाफाँटा, अपिसैपालजस्ता प्राकृतिक सम्पदा यही क्षेत्रमा छन् । धार्मिक पर्यटनको त्यत्तिकै सम्भावना छ । सरकारले चाहेमा यहाँ जलपर्यटनको विकासमार्फत समग्र क्षेत्रको विकासमा टेवा पुग्नसक्छ ।” तर विडम्बना यी सम्भावनाको सदुपयोग गर्ने विषयमा अझै योजनाबद्ध विकासको खाका तयार गर्न सकिएको छैन । जल पर्यटनको हिसाबले त सुदूरपश्चिम झन् उपेक्षामा छ । नेपालमा जलयात्रा शुभारम्भ भएको ५० वर्ष पुग्न लागिसक्यो तर पश्चिम नेपाल भर्खरै बामे सर्दैछ । महाकालीमा त अझै जलयात्राको व्यावसायिक विकास हुनसकेको छैन ।
नेपाल एशोसियसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) का निवर्तमान अध्यक्ष शिव अधिकारी देशका अन्य भूभागमा जलयात्रा अभ्यासको आधा शताब्दी हुँदासम्म महाकालीलगायत सुदूरपश्चिमका नदीहरूको व्यावसायिक प्रयोग नहुनु दुःखद भएको बताछन्। उनि भन्छन्, “विडम्बना नै भन्नुपर्छ देशमा अनुमतिप्राप्त नदीमध्ये महाकाली मात्रै र्याफ्टिङ नचलेको नदी हो जबकि यो नदी सम्भावनाका हिसाबले विश्वभर प्रसिद्ध छ । देशमा र्याफ्टिङ सञ्चालन भएको दशकौँ हुँदासमेत यहाँ भर्खरै सम्भावनाका कुरा हुँदैछन् ।”
डडेल्धुराको परशुराम नगरपालिका प्रमुख भरत बडायर जोशी अब महाकाली सीमा नदी हो भनेर पन्छिनुभन्दा पनि भारतसँगको सहकार्यमा यहाँ जलयात्राको विकास गरिनुपर्ने बताउछन् । “दार्चुलादेखि कञ्चनपुरको दोधारा चाँदनीसम्म सहजै जलयात्रा गर्न सकिन्छ । गत वर्ष हामीले परशुरामधामदेखि कञ्चनपुरको खल्लासम्म करिब दुई घण्टामै यात्रा तय गरेर त्यो पुष्टि गरिसकेका छौँ । अब यसको व्यावसायिक विकासको खाँचो छ । त्यसका लागि भारतसँग संवाद गरेर, उसका सुरक्षा चासोलाई सम्बोधन गर्दै काम अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो,“देशमा तीन तहका सरकार छन् । सङ्घ सरकारले दशकौँदेखि पर्यटन क्षेत्रमा करोडौं खर्चिरहेको छ तर सुदूरपश्चिममा त्यसको नगन्य हिस्सा लगानी भइरहेको छ । त्यसको उदाहरण जलयात्रा पनि हो । थोरै लगानी गरेर धेरै लाभ लिन सकिने यो क्षेत्रमा केही वर्षदेखि चर्चा सुरु भएको छ । अब यसलाई व्यावसायिक रूपमा अगाडि बढाउन आवश्यक सहजीकरणको खाँचो छ ।”
कुनै समय नेपालको जलपर्यटनमा स्वर्णीम युग थियो । यस क्षेत्रका जानकारहरू त्यो युग सन् १९९० को दशकलाई मान्ने गर्छन् तर सुदूरपश्चिमलाई त्यसले छोएन । यहाँ सम्भावनाका कुरा भए तर त्यसअनुसार काम भएनन् । विगत नौ वर्षदेखि कर्णाली (बाजुरा) खण्डमा ¥याफ्टिङ सञ्चालन गरिरहेका व्यवसायी भण्डारी भन्नुहुन्छ,“पूर्वमा निजी सङ्घसंस्था, सरकारका सम्बद्ध निकाले हल्लाखल्ला गरे, लगानी बढाए, पूर्वाधारको विकास गरे त्यहाँ पर्यटन क्षेत्र फस्टायो तर हामीलाई भूगोल र पूर्वाधारले नै ठग्यो । अब त त्यो अवस्था छैन । पर्यटकहरूले हेर्न चाहने ग्रामीण जीवन, विकासको अवस्था, फरक रहनसहन, धार्मिक आस्था, प्राकृति विशिष्ट भूबनोट रहेको सुदूरपश्चिमको विकासका लागि अब सरकारले गन्तव्य सुदूरपश्चिमको सङ्कल्पसहित यहाँ केन्द्रीत हुन आवश्यक छ ।”
जल पर्यटनमा पश्चिम नेपाल
यहाँ कर्णाली, महाकाली, सेती कर्णाली, राप्ति, बबै, ठूलो भेरी, सानो भेरी, भेरी, हुम्ला, मुगु र टिला कर्णाली, बुढीगङ्गाजस्ता नदीहरू छन् । यी सबै नदीका आआफ्नै विशेषता छन् । कोही कायकिङ, कोही फिसिङ्, कोही ¥याफ्टिङ्का लागि राम्रो छन् । यिनको व्यावसायिक प्रयोगका लागि भने ठोस पहल भएको देखिँदैन । प्राप्त जानकारीअनुसार कर्णालीमा एकदेखि १८ दिन, भेरीमा १० दिन, पश्चिम सेती कर्णालीमा १४ दिन, महाकालीमा पनि एक दिनदेखि छ÷सात दिनसम्मको प्याकेज बनाएर जलयात्रा गर्न सकिन्छ तर त्यसको प्रचार हुनसकेको छैन ।
कर्णाली ¥याफ्टिङ एण्ड एडभेन्चर प्रालिका सञ्चालक जैशी भन्छन्,“हालसम्म काठमाडौँमा बसेर केही संस्थाले बनाएका नीतिअनुसार काम भइरहेको छ । कतिपयले त यहाँका १४ दिनसम्म जलयात्रा गर्न सकिने नदीलाई पनि केवल १० मिटरको मात्रै त हो नि भन्ने ढङ्गले कुरा गरेको सुन्छु । यहाँ आधा दिन, एक दिनदेखि १८ दिनसम्मको जलयात्राको प्याकेज बनाउन सकिन्छ तर हामीले यसको प्रचारप्रसार गर्ने प्लेटफर्म नै पाएनौँ ।”
पश्चिम नेपालमा हाल चार(पाँच वटा संस्था मात्रै इजाजत प्राप्त रहेको बताइन्छ । ती पनि सबै क्रियाशील छैनन् तर इजाजत नपाएका कम्पनीहरूले पनि आफूखुसी नदीमा प्रवेश गर्ने अवस्था छ । “हामीले करोडौ लगानी गरेर यस क्षेत्रमा काम गरिरहेका छौँ । एउटै बोटको रु १३ लाभन्दा बढी पर्छ । सबै ठाउँमा मर्मत केन्द्र छैन । राज्यले सहुलियत र प्रोत्साहन गर्दैन”, जैशीले भने,“त्यसैमाथि इजाजत नपाएका कम्पनी, व्यक्ति, स्वदेशी तथा विदेशीलेसमेत बिनारोकतोक ¥याफ्टिङ चलाउने जाने अवस्था छ । कुन नदीको कुन रुटमा सञ्चालन गर्ने वा नगर्ने भन्ने नियम नै छैन । भएको नियमको पनि नियमन गर्ने निकाय नहुँदा व्यवसायी मारमा परेका छौँ ।”
व्यवसायी भण्डारी पनि अब विगतको नीतिलाई सुधार गर्दै पश्चिम नेपालको पर्यटन सम्भावनालाई साकार गर्न राज्य र निजी क्षेत्र मिलेर अगाडि बढे जलपर्यटनको माध्यमबाट देशको मुहार फेर्न सकिने दाबी गर्छन् । “सुदूरपश्चिमलाई दूरीले टाढा छ भनेर उपेक्षा गरियो । यहाँ लक्षित पर्यटन टुर प्याकेज कहिल्यै बनेनन् । अहिले तीन तहका सरकार छन् तर पनि अवस्था फेरिएको छैन । अब सम्भावनाको अन्त्य होइन, सुदूरपश्चिमबाट नयाँ आशा जगाउन सकिन्छ । खस्किँदै गएको जलपर्यटन र समग्र पर्यटनमा नयाँ लय फर्काउन सकिन्छ”, वलिभ इकोभिलेज होटलका सञ्चालकसमेत रहेका भण्डारी भन्छन्,“सुदूरपश्चिम पर्यटनका दृष्टिले ‘भर्जिन ल्याण्ड’ हो । पहिले नजिक र टाढाको भाष्यका कारण ओझेलमा प¥यो । अब त धेरै ठाउँमा सडक बनेका छन्, हवाई सुविधा छ । अब नेपालमा सबै बिग्रिँदैछ भनेर होइन सुदूरपश्चिम सम्भावनाको क्षेत्र हो भनेर गन्तब्य सुदूरपश्चिमको भावनासहित अगाडि बढ्न आवश्यक छ ।”
जल पर्यटन विशुद्ध नदीको कुरा मात्रै होइन त्यससँग कला, संस्कृति, रहनसहन, शिक्षा र समाज, आस्था र सभ्यता पनि जोडिने भएकाले यी हरेक दृष्टिले सुदूरपश्चिम अबको गन्तब्य हुनसक्ने जानकारहरू बताउँछन् । यहाँ परशुरामधाम, उग्रतारा, मेलौली भगवती, शैलेश्वरी, बैद्यनाथधाम, बडिमालीका, कालिकार्जुन, बेहडाबाबा, ब्रह्मदेव, बडिकेदारजस्ता धामिक आस्थाका केन्द्र तथा खप्तड, रामारोशन, टीकापुरपार्क, कर्णाली चिसापानी, सूर्योदय हेर्न मिल्ने राजकाँडा, रामारोशन, झिलमिला ताल, बेदकोट ताल, घोडाघोडी सिमसार क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जजस्ता प्राकृतिक क्षेत्र छन् । यही भूगोलभित्र राउटेदेखि खसआर्यका मौलिक परम्परा, भाषा र साहित्य, राना थारुदेखि सौका जातिसम्मका फरकफरक वेशभूषा, रहनसहन, खानपिन, जीवनशैली पर्यटकका लागि एक ‘प्याकेज’ हुन सक्छन् ।
प्रतिक्रिया दनुहोस्