बैतडी : दार्चुलाको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुखलाई अन्य दुई जिल्लाको शहरी विकास तथा भवन कार्यालयको पनि जिम्मेवारी थपिएको छ । दार्चुला कार्यालयका प्रमुख गोबिन्द देवकोटालाई बैतडी र बझाङ जिल्लाको शहरी विकास तथा भवन कार्यालयको पनि जिम्मेवारी थपिएको हो ।
दिनभरि एक जिल्लाको काम सकेर राति हिँडेर बिहान अर्को जिल्ला पुग्नुपर्ने बाध्यता देवकोटालाई आइलागेको छ । बैतडीबाट बझाङ पुग्न गाडीमा एक दिन लाग्छ । बझाङमा एक दिन बसेर उनी भोलिपल्ट दार्चुलाको मालिकार्जुनस्थित तीन करोड रुपैयाँको लिफ्ट खानेपानी योजनाको काम हेर्छन् ।
त्यहाँका योजना हेरेर खानेपानी र भवन डिभिजन कार्यालय बैतडी पुग्दा चार दिन बित्छ । बैतडी र दार्चुलामा मात्रै खानेपानीका ३४९ वटा योजना छन् । खानेपानीका क्रमागत योजनासमेत जोड्ने हो भने बैतडीमा १२१ र दार्चुलामा ६० वटा पुराना योजना छन् । दुई जिल्लाका खानेपानी योजना हेर्ने उनी एक जना मात्रै इन्जिनियर हुन् ।
गाउँबस्तीमा आधारभूत खानेपानी पु-याउन सुदूरपश्चिम प्रदेश सरकारले यो वर्ष बैतडी र दार्चुलाका लागि ४७ करोड रुपैयाँ बजेट पठाएको देवकोटाले बताए । खानेपानी कार्यालयमा जनशक्ति नहुँदा करारका एकसब इन्जिनियर नियुक्त गरी काम गर्नुपरेको उनले सुनाए । उनका अनुसार दुई जिल्ला हेर्ने खानेपानी तथा सरसफाइ डिभिजनमा एक जना डिई, तीन जना इन्जिनियर, चार सब इन्जिनियर र चार खानेपानी प्राविधिकको दरबन्दी भए पनि दरबन्दी अनुसारको जनशक्ति छैनन् ।
प्रदेश सरकारले देवकोटालाई शहरी विकास तथा भवन कार्यालय प्रमुखको जिम्मेवारी दिएपछि उनले बैतडी र बझाङ जिल्लाका ४८ वटा शहरी योजनाको समेत काम गर्दै आएका छन् । कार्यालयले सरकारी भवन, शहरी सडक, नाला निर्माण जस्ता योजनाको काम गर्दै आएको छ । बैतडी र बझाङ हेर्ने भवन कार्यालयमा पनि एक जना डिभिजनल इन्जिनियर, तीन जना इन्जिनियरको दरबन्दी भए पनि सबै रिक्त छन् । भवनमा तीन जना ओभरसियर भएकाले केही सहज भएको देवकोटाले बताए ।
प्रतिक्रिया दनुहोस्