बैतडी : बैतडीमा अवस्थित प्रसिद्ध ऐतिहासिक धरोहर पञ्चदेवल श्रीदेवीको अगुवाइमा निर्माण भएको दाबी गरिएको छ। हुलाक टिकट, दशरथ चन्द नगरपालिकाको लोगो र पुरातात्त्विक विभागको संरक्षण सूचीमा रहेको बैतडीको पञ्चदेवल एक जना साहसी महिलाको अगुवाइमा भएको दाबी गरिएको हो । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले पञ्चदेवलको निर्माण १४ औँ शताब्दीमा श्रीदेवीको अगुवाइमा निर्माण भएको दाबी गरेका छन ।
दशरथ चन्द नगरपालिका-४, देवलहाटमा रहेको ऐतिहासिक शिखर शैलीमा निर्मित पञ्चदेवलका बारेमा पूर्वमुख्यमन्त्री रावलले नयाँ तथ्य फेला परेको दाबी गरे । उनले पञ्चदेवलको निर्माण साके संवत् १४२१ मा श्रीदेवीले आफ्ना पुत्र गरुड (ज्ञान चन्द)को स्मृतिमा निर्माण गरेको बताए। यो विषय आफूले पुरातात्त्विक स्रोतबाट प्राप्त प्रमाणका आधारमा १७ वर्ष अनुसन्धान गरेर ‘द हिस्ट्री अफ मिडिभल डोटी (मध्यकालीन डोटी राज्यको इतिहास-सङ्क १२३५-१७१२) नामक अङ्ग्रेजी भाषाको पुस्तकमा समेत उल्लेख गरेको बताए ।
उनले भने, “पञ्चदेवल पाण्डवले बनाएको होइन । यो त बैतडीकै श्रीदेवीले निर्माण गर्न लगाएको हो । तत्कालीन डोटीका राजा रिपु मल्लले गरुड चन्दको हत्या गरेपछि उनकी आमा श्रीदेवीले हातहतियार र खरखजाना सुरक्षित राख्ने उद्देश्यले देवलको निर्माण गरेकी थिइन । खरखजानामा कछुवाको खप्परसमेत थियो, जुन अर्घ दिने बेला प्रयोगमा ल्याइन्थ्यो । उनले अगाडि भने, “गरुड चन्दको नाम ज्ञानचन्द भए पनि आकाशमा उडिरहेको गरुडलाई वाण हानेर खसाल्न सफल भएका कारण तत्कालीन मुगल सम्राट् जाहगिरले गरुड चन्दको उपाधि दिएका थिए ।”
रावलले दाबी गरे जस्तै पुरातात्त्विक विभागले ११ वर्षअघि देवलको जीर्णद्धार गर्ने बेला देवलभित्रबाट तरबार, सुनचाँदी लगायतका खरखजाना फेला परेको स्थानीयले बताए । रावलले लेखेको मध्यकालीन डोटी राज्यको इतिहास नामको अङ्ग्रेजी भाषाको खोजमूलक पुस्तक सुदूरपश्चिम विश्वविद्यालयले मानविकी र सामाजिक विज्ञान सङ्कायको पाठ्यक्रममा समेत राखिएको छ ।
दशरथ चन्द नगरपालिका-४, देवलहाटस्थित ऐतिहासिक पञ्चदेवल मन्दिरको चित्र अङ्कित गरेर हुलाक सेवा विभागले हुलाक टिकट प्रकाशन गरेको छ । शिखर वास्तुशैलीमा निर्मित पञ्चदेवल मन्दिरमा ऐतिहासिक शिलालेख, ढाल-तरबार, सुनचाँदी र माटाका भाँडाकुँडा रहेका छन् । पुरातात्त्विक विभागले देवलको जीर्णाद्धार गर्दा ऐतिहासिक शिलालेख, सुनचाँदी र ढाल-तरबार फेला पारेको थियो । फेला परेका ऐतिहासिक वस्तु पञ्चदेवलमा सुरक्षित राखिएका छन् ।


			
					
					
					
					
					

                    
                    
                    
                    
                    
                    
प्रतिक्रिया दिनुहोस्