कैलाली | युद्धरत इजरायल–हमासबीच युद्धविरामको सहमति भएसँगै ७ अक्टोबर २०२३ (२० असोज २०८०) मा आक्रमणपछि हमासको कब्जामा रहेका विद्यार्थी विपिन जोशीको रिहाइका लागि ‘काउन्टडाउन’ सुरु भएको छ।
दुवै पक्षबीच युद्धविराममा सहमति जुटेलगत्तै मध्यस्थकर्तामध्येको एक कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले बताए अनुसार युद्धविराम सम्झौता आइतबार (१९ जनवरी, ६ माघ) देखि लागू हुने छ।
युद्धविरामको पहिलो चरण ६ हप्ताको हुने छ र सुरुमा हमासले ३३ बन्धकलाई छाड्ने छ। त्यसैले आगामी केही हप्ताभित्र विपिनको रिहाइको सम्भावना क्षीण छ।
जानकारहरूका भनाइमा त्यसपछि भने विपिनको स्थितिबारे यकिन जानकारी प्राप्त हुने र रिहा पनि हुने सम्भावना देखिन्छ।
विपिन जीवित रहेका ‘तीन प्रमाण’
‘लर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका विपिन हमासले इजरायलमाथि गरेको ७ अक्टोबर २०२३ (२० असोज २०८०) आक्रमणका क्रममा हमासको कब्जामा परेका थिए। उनी हालसम्म जीवितै छन् भन्ने विश्वास तीन आधिकारिक निकायहरूको दाबीका आधारमा गर्न सकिने स्थिति छ।
ती तीन निकायहरू हुन्, परराष्ट्र मन्त्रालय, नेपालस्थित इजरायली राजदूतावास र इजरायली डिफेन्स फोर्स (आईडीएफ) अर्थात् इजरायली सेना।
जहाँसम्म परराष्ट्र मन्त्रालयको सन्दर्भ हो, मन्त्रालयको तर्फबाट परराष्ट्रमन्त्री डा. राणाले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय समितिको सोमबार (२९ पुुस) को बैठकमा जोशी जीवितै रहेको दाबी गरेकी थिइन्।
‘विपिन भाइ सकुशल हुनुहुन्छ,’ बैठकमा उनले भनेकी थिइन्, ‘त्यसैले, उहाँ फर्केर आउनुहुन्छ भन्नेमा म ढुक्क छु।’
अर्काे निकाय इजरायली सेनाले पनि एक वर्षअघि विपिन जीवितै रहेको सूचना प्राप्त भएको दाबी गरेको थियो। विपिन अपहरणमा परेको एक महिनापछि २२ नोभेम्बर २०२३ (६ मंसिर २०८०) मा इजरायली सेनाले एउटा यस्तो भिडिओ फुटेज सार्वजनिक गर्यो, जसमा हमासको कब्जामा रहेकामध्ये एक युवक जोशी रहेको इजरायली सेनाको दाबी थियो।
गाजास्थित अल–शिफा अस्पतालको सो भिडियो फुटेजमा हमासको कब्जामा रहेका विपिन टिसर्ट, हाफप्यान्ट र चप्पल लगाएको अवस्थामा देखिन्छन्। हमास लडाकुहरूले उनलाई एक स्थानबाट अर्काे स्थानमा स्थानान्तरण गरिरहेको देखिन्छ।
यो त एक वर्षअघिको कुरा भयो, दुई महिनाअघि पनि नेपालका लागि इजरायली राजदूत सामुलिएक एरी बासले विपिन जीवितै रहेको सूचना आफूलाई प्राप्त भएको बताएका थिए।
‘अरबी देशको सोतबाट विपिन जोशी जीवितै रहेको सूचना हामीले पाएका छौँ,’ कार्यभार सम्हाल्न भर्खर काठमाडौँ आइपुगेका राजदूत बासले मंसिर तेस्रो साता भनेका थिए, ‘उनी छिट्टै नेपाल फर्कनेछन्।’
गुमेको एउटा अवसर
२० असोज (२०८०) मा हमासले इजरायलमाथि आक्रमण गरी १२ सयभन्दा बढीको हत्या गरेको थियो, जसमा ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका १० नेपाली विद्यार्थी पनि परे।
आक्रमणका क्रममा हमासले नेपाली विद्यार्थी विपिन जोशीसहित २ सय ५१ जना इजरायली र अन्य मुलुकका नागरिकहरूलाई कब्जा गरेको थियो। त्यसमध्ये कब्जामा रहेका केही विदेशी तथा इजरायलीहरूलाई हमासले गतवर्ष नै मुक्त गरिसकेको छ।
खासमा उनीहरू इजरायल–हमासबीचको पहिलो युद्धविरामका क्रममा मुक्त भएका थिए। त्यो युद्धविराम ८–१२ मंसिर (२०८०) मा भएको थियो। पाँच दिने सो युद्धविरामअघि दुई अमेरिकी बन्दी रिहा गरिएका थिए।
पाँच दिने युद्धविरामका क्रममा ५० जना इजरायली बन्दी रिहा भए, बदलामा इजरायलले पनि १ सय ५० जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्यो।
इजरायली बन्दी मात्र होइन, हमासको कब्जामा रहेका १४ जना थाई र एक फिलिपिनो बन्दी पनि सोही क्रममा मुक्त गरिए।
अमेरिकी बन्दी रिहा हुनुको कारण थियो, पाँच दिने युद्धविरामका लागि अमेरिकाको पहल। थाइल्यान्ड र फिलिपिन्सका नागरिकहरूको रिहाइको कारण भने यी दुई मुलुकको सबल कूटनीति थियो।
युद्धविराम हुँदैछ भन्ने सूचनाका आधारमा थाइल्यान्ड र फिलिपिन्सले कतारसँग सम्पर्क कायम गरेका थिए, जसले उनीहरूका मुलुकका बन्दीहरूको रिहाइ सम्भव तुल्यायो।
युद्धविरामबारे समयमै सूचना प्राप्त नहुँदा नेपाल भने त्यो बेला चुक्यो, विपिनको रिहाइ हुन सकेन। त्यो घटनाबाट पाठ सिकेर नेपालले युद्धविरामको सम्भावना देखिनासाथ विपिनको रिहाइका लागि निरन्तर कतारलाई आग्रह गर्दै आएको छ।
जस्तो कि कतारका शेख तामिम बिन हमान अल–थानीको ११–१२ वैशाख (२०८०) को भ्रमणका क्रममा नेपालले विपिन रिहाइका लागि पहल गरिदिन आग्रह गरेको थियो। अन्य अवसरमा पनि नेपालले कतारका अधिकारीहरूसँग विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै आएको छ।
दोस्रो युद्धविरामअघिका पहल
नेपालका लागि इजिप्टकी राजदूत नोहा हमदी अहमद इलगेबालीले गत शुक्रबार (२६ पुस, जनवरी १०) मा परराष्ट्रमन्त्री डा.राणासँग मन्त्रालयमा भेटवार्ता गरेकी थिइन्। खासमा परराष्ट्रमन्त्री डा. राणाकै निमन्त्रणमा राजदूत इलगेबाली भेटवार्ताका लागि मन्त्रालय पुगेकी थिइन्।
‘त्यसक्रममा द्विपक्षीय सम्बन्धमा विषयवस्तुमा कुराकानी भएका छन्,’ भेटबारे परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्स (ट्विटर) बाट जानकारी गराउँदै भनेको थियो, ‘तर, कुराकानीको मुख्य विषयवस्तु भने हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइबारे केन्द्रित थियो।’
इजरायल–हमासबीच दोस्रो युद्धविरामको तयारी दुई हप्ताअघि नै सुरु भएको थियो। युद्धविरामका लागि कतार र इजिप्टले मध्यस्थको भूमिका निर्वाह गरेको पनि सार्वजनिक भइसकेको थियो।
यसैक्रममा परराष्ट्रमन्त्री डा. राणाको इजिप्टकी राजदूत इलगेबालीसँग विपिनको रिहाइका लागि सहयोगको अपेक्षा गरेकी हुन्।
इजिप्टकी राजदूत इलगेबालीभन्दा दुई दिनअघि (२४ पुस) डा. राणाले इजरायली राजदूत सामुलिक एरी बाससँग पनि यस विषयमा छलफल र रिहाइमा सहयोग गरिदिन आग्रह गरेकी थिइन्।
राजदूत बाससँगको भेटवार्ता भन्दा दुई दिनअघि (२२ पुस) मा हमासले ३४ जना इजरायली बन्दीहरूको नाम सार्वजनिक गरेको थियो। उनीहरूको नाम सार्वजनिक भएसँगै इजरायल–हमासबीच युद्धविराम हुने आशा बढेको थियो।
परराष्ट्रमन्त्री डा. राणाले त्यसपछि नै इजरायली राजदूत बाससँग रिहाइको प्राथमिकतामा नेपाली विद्यार्थी विपिन जोशीलाई राखिदिन आग्रह गरेकी हुन्।
मध्यस्थको भूमिका निर्वाह गरेको अर्काे प्रमुख मुलुक कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलाजिज अल–खुलाफीसँग पनि १ पुसमा परराष्ट्रमन्त्री डा. राणाले फोन–संवाद गरिन्।
परराष्ट्र मन्त्रालयका अनुसार सो फोनवार्तामा कतारको निर्णायक भूमिका रहकाले मन्त्री डा. राणाले रिहा हुनेको सूचीमा विपिनको नाम पनि समावेश गरिदिन आग्रह गरेकी थिइन्।
मध्यस्थको भूमिका निर्वाह गरिरहेको कतारका विदेश राज्यमन्त्रीबाहेक इजरायली समकक्षी गिडोन सारसँग पनि उनले फोनवार्ता गरेकी छन्। १ पुसमा भएको फोनवार्ताका क्रममा डा. राणाले विपिनको रिहाइका लागि अधिकतम सहयोग र सककार्यका लागि आग्रह गरेकी थिइन्।
सो टेलिफोनवार्तापछि परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइए अनुसार इजरायली परराष्ट्रमन्त्री सारले विपिनको रिहाइका प्रयास भइरहेको जानकारी गराएका थिए र आगामी दिनमा पनि रिहाइका लागि जोड दिइने विश्वास दिलाएका थिए।
कहिले रिहा होलान् विपिन जोशी?
अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा हुने इजरायल–हमासबीचको युद्धविराम सम्झौता सम्पूर्ण विवरणहरू सार्वजनिक गरिएका छैनन्। यद्यपि युद्धविरामको कार्यान्वयन तीन चरणमा गरिने छ।
युद्धविरामको पहिलो चरणमा हमासले जीवित ३३ जना बन्धक रिहा गर्नेछ। तिनमा केटाकेटी, महिला र वृद्धहरू छन्।
नाम सार्वजनिक भएका ३३ जीवित इजरायली बन्दीहरू रिहा हुन नै तीन साता अर्थात २० माघसम्म लाग्ने भएकाले यसै अवधिमा विपिन रिहाइको आशा गर्नु त्यति व्यावहारिक हुने छैन।
बन्धक रिहा हुन थालेपछि मात्रै बाँकी बन्धकको स्थिति पत्ता लाग्ने अनुमान छ।
‘गाजामा इजरायलको आक्रमण सुरु भएपछि हमासको सूचना–संयन्त्र र नेतृत्व ध्वस्त भएको अवस्था छ, उनीहरू (हमास) ले सूचनाका लागि विद्युतीय उपकरण प्रयोग गर्दैनन्, किनकि विद्युतीय उपकरण प्रयोग गर्दा इजरायलले उनीहरूको सूचना प्राप्त गर्न सक्छ,’ मध्यस्थमध्येको एक मुलुकस्थित नेपाली राजदूतले नेपालखबरसँग भने, ‘त्यसैले कतिपय बन्दीको स्थितिबारे हमासलाई नै जानकारी छैन, यो स्थितिमा विपिन लगायतका बन्दीहरू कहाँ र कस्तो हालतमा छन् भन्ने जानकारी उपलब्ध गराउन हमासलाई पनि केही दिन लाग्न सक्छ।’
ती राजदूतका भनाइमा, इजरायलसँगको द्वन्द्वमा हमास प्रमुख समूह भए पनि अन्य प्यालेस्टिनी समूह पनि छन्, जोसँग २० असोजको आक्रमणमा कब्जा गरिएमध्येका केही बन्दी छन्। त्यसैले पनि बन्दीहरूको स्थिति पत्ता लगाउने काम निकै जटिल देखिन्छ।
‘विपिनका बारेमा सरोकारवाला सबै पक्षलाई जानकारी गराउने काम भइसकेको छ, पुग्नुपर्ने ठाउँमा कुरा पुगिसकेको छ,’ ती राजदूतले थपे, ‘यतिबेला हमास आफै अस्तव्यस्त स्थितिमा भएकाले विपिनको स्थिति पत्ता लगाउन उसलाई पनि केही समय लाग्न सक्छ।’
त्यसैले करिब आगामी तीन हप्तासम्म विपिनको स्थितिबारे यकिन जानकारीको अपेक्षा र रिहाइका लागि धैर्य गर्नुबाहेक अर्काे विकल्प नभएको उनी बताउँछन्।
प्रतिक्रिया दनुहोस्