सीटीईभीटीको डिप्लोमा र प्रि-डिप्लोमामा किन घट्दैछ भर्ना र उत्तीर्ण दर ?

काठमाडौं : राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार आवश्यकताका लागि सक्षम जनशक्ति विकास गर्न, नेपालको शिक्षा प्रणालीलाई रोजगारीसँग जोड्ने लगायत उद्देश्यका साथ २०४५ सालमा स्थापना भएको हो- प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)।

यसको उद्देश्य र लक्ष्य अनुसार ज्ञान, सिप दिएको भए धेरै सक्षम जनशक्ति उत्पादन हुन्थ्यो। तर,सीटीईभीटीले त्यसको महत्त्व खास स्थापित गर्न सकिरहेको छैन। पछिल्लो समय सीटीईभीटीको प्रि-डिप्लोमा तथा डिप्लोमा भर्ना दरसँगै उतीर्ण दर पनि घट्दै गएको देखिएको छ।

khadya

पाठ्यक्रम सुधारसम्बन्धी अध्ययन कार्यटोलीले ‘प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमको पाठ्यक्रम सुधारसम्बन्धी अध्ययन टोलीको प्रतिवेदन २०८१’ सीटीईभीटीका अध्यक्ष र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेश गरेको छ। प्रतिवेदनमा प्रि-डिप्लोमा तथा डिप्लोमा तहको विगत पाँच वर्षको निर्धारित सिट सङ्ख्या र भर्नाको प्रवृत्तिको तुलना गर्दा भर्नाका लागि निर्धारित सिट सङ्ख्या र भर्नाबीच ठूलो भिन्नता रहेको देखाइएको छ।

प्रि-डिप्लोमा तहमा भर्नाका लागि निर्धारित सिट सङ्ख्या र भर्नाबीच ठूलो भिन्नता रहेको देखिएको छ भने २०७६ सालदेखि ०८० सम्म आउँदा भर्ना दर क्रमिक रूपमा घट्न गई २२ हजार ५२१ बाट ८ हजार ७१८ मा आइपुगेको प्रतिवेदनमा उल्लेख छ।

‘डिप्लोमा तहमा पनि भर्नाका लागि निर्धारित सिट सङ्ख्या र भर्नाबीच ठूलो भिन्नता रहेको देखाउँछ’, प्रतिवेदनमा भनिएको छ, ‘यसले एकातिर डिप्लोमा तहमा भर्नाका लागि निर्धारित सिट सङ्ख्या र भर्नाबीच भिन्नता बढिरहेको देखाउँछ भने अर्कोतिर डिप्लोमा तहको समग्र भर्नाको प्रवृत्तिमा वृद्धिको क्रम देखिँदैन।’

उतीर्ण दर छैन सन्तोषजनक 

डिप्लोमा तहका विभिन्न कार्यक्रममध्ये नर्सिङ कार्यक्रमबाहेक धेरैजसो कार्यक्रममा प्रशिक्षार्थीको उत्तीर्ण दर पनि सन्तोषजनक छैन। उदाहरणका लागि कार्यटोलीले परिषद्को अभिलेखअनुसार शैक्षिक सत्र २०७६ मा डिप्लोमा तहमा रजिष्ट्रेसन गरेका विद्यार्थीको तीन वर्षे अध्ययन सकिएपछि प्रकाशित नतिजाको नमुना विश्लेषण गर्दा स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी विद्यार्थी भर्ना भएका देखिएको छ। 

२०७६ मा स्वास्थ्यका १० वटा कार्यक्रम सञ्चालन गर्ने ३३१ शिक्षण संस्थामा ११ हजार २०२ जना विद्यार्थी रजिष्ट्रेसन भएकोमा ७८ प्रतिशत विद्यार्थी उत्तीर्ण भए। यसमध्ये सबैभन्दा बढी नर्सिङ कार्यक्रममा ९३ प्रतिशत र सबैभन्दा कम आयुर्वेदमा ५५ प्रतिशत उत्तीर्ण भएको देखिन्छ।

त्यसैगरी इन्जिनियरिङमा १३ वटा डिप्लोमा कार्यक्रम सञ्चालन गर्ने २८२ शिक्षण संस्थामा ८ हजार ५८२ विद्यार्थी भर्ना भएकोमा २०७९ मा ५७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको पाइन्छ।

त्यसैगरी डिप्लोमा कृषितर्फ तीन वटा कार्यक्रम सञ्चालन गरेका २१७ शिक्षण संस्थामा ५ हजार १५७ जना शैक्षिक सत्र २०७६ मा रजिष्ट्रेसन भएका विद्यार्थीको २०७९ मा भएको अन्तिम नतिजामा उत्तीर्ण ६६ प्रतिशत रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ। सोही वर्ष होटल म्यानेजमेन्ट, फरेष्ट्रि, सोसल वर्क्स कार्यक्रम सञ्चालन गर्ने ४२ वटा संस्थामा १० हजार २५ जना रजिष्ट्रेसन भएका विद्यार्थी मध्ये ५७ प्रतिशत उत्तीर्ण थिए।

‘शैक्षिक सत्र २०७७ मा रजिष्ट्रेसन भएका विद्यार्थीहरूमा स्वास्थ्य तर्फ ३४४ शिक्षण संस्थामा ११ हजार ८२१ रजिष्ट्रेसन भएकोमा ७१ प्रतिशत उत्तीर्ण, इन्जिनियरिङमा ३४९ वटा शिक्षण संस्थामा ९ हजार १६८ रजिष्ट्रेसन भएकोमा ६८ प्रतिशत उत्तीर्ण,  कृषिमा २४५ शिक्षण संस्थामा ६ हजार ४५७ रजिष्ट्रेसन भएकोमा ५३ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण र अन्य कार्यक्रम सञ्चालन गरेका ५६ वटा शिक्षण संस्थामा रजिष्ट्रेसन भएका एक हजार सय ९५३ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन्’, प्रतिवेदनमा उल्लेख छ। ​उत्तीर्ण दर बढ्नुपर्नेमा घट्दै गएको यो प्रतिवेदनले देखाउँछ। 

भर्ना र उत्तीर्ण दर घट्नुमा के-के छन् कारण ?

गत साउन २२ मा बसेको सीटीईभीटीको  बैठकको निर्णयबमोजिम परिषदबाट सञ्चालन हुने कार्यक्रमका लागि आवश्यक हुने पाठ्यक्रमलाई समय सुहाउँदो र श्रम बजारसँग सान्दर्भिक बनाउने सम्बन्धमा अध्ययन गरी एक महिनाभित्र सुझावसहित प्रतिवेदन पेश गर्न पाठ्यक्रमविज्ञ डा.लेखनाथ पौडेलको संयोजकत्वमा पाँच सदस्यीय कार्यटोली गठन भएको थियो।

कार्यटोलीका संयोजक पौडेल पछिल्लो समय यसरी विद्यार्थी भर्ना दर घटनुको कारणमध्ये एउटा पाठ्यक्रम संरचना रहेको बताउँछन्। ‘यसरी भर्ना दर घट्नुमा धेरै कारणहरू हुन सक्छन्, जसमध्ये एक पाठ्यक्रम संरचना नै हो, समयसापेक्ष बन्न सकेन। पाठ्यक्रमको प्रभावकारी कार्यान्वयन पनि हुन सकेन। त्यसैले विद्यार्थी आकर्षित भएनन्’,  उनले भने, ‘अबदेखि पाठ्यक्रमको सुधार हुनुपर्छ। हामीले अन्य यसको समस्या र समाधानको लागि प्रतिवेदनमार्फत सरकारलाई सुझाव तथा सिफारिस पनि गरेका छौँ।’

गुणस्तरीय शिक्षा नभएकै कारण भर्ना दर पनि सन्तोषजनक नरहेको उनको बताए। त्यसो त कार्यटोलीले बुझाएको प्रतिवेदनमा पनि भनिएको छ,‘सीटीईभीटीका डिप्लोमा र प्रि-डिप्लोमा कार्यक्रमका पाठ्यक्रमलाई श्रमबजारको मागअनुसार सान्दर्भिक बनाउनुपर्ने चुनौती रहेको सन्दर्भमा पाठ्यक्रमको स्वरूप, विषयवस्तुको सङ्गठन, प्रयोगात्मक अभ्यास, शिक्षण सिकाइ क्रियाकलाप तथा प्रशिक्षार्थी मूल्याङ्कन प्रणालीलगायत पक्षको समीक्षा गरी सुधार गर्नु आवश्यक देखिएको छ।’

सीटीईभीटीका छोटो अवधिका तालिम पाठ्यक्रमहरूमा विभिन्न अवधि तथा पाठ्यवस्तु समेटिएका भए तापनि यी पाठ्यक्रमको समानता भनेकोे सैद्धान्तिक भन्दा पनि प्रयोगात्मक पक्षमा जोड दिइएका पाइन्छन्। तर यी पाठ्यक्रमको सही ढङ्गले कार्यान्वयनमा भने समस्या रहँदै आएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार हाल सीटीईभीटीअन्तर्गत ६५ वटा आङ्गिक शिक्षालय, ६३९ वटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स) कार्यक्रम, ५८ वटा साझेदारीमा सञ्चालित शिक्षालय र ४०७ वटा सम्बन्धन लिएका निजी शिक्षालय गरी ११ सय ६९ संस्थामा डिप्लोमा तथा प्रि-डिप्लोमा तहका कार्यक्रम सञ्चालन भएका छन्।

छोटो अवधिको सिपमूलक तालिम सञ्चालनका लागि सीटीईभीटीबाट सम्बन्धन लिएका संस्थाहरूको सङ्ख्या एक हजार ६१८ रहेको छ। हाल सीटीईभीटीले तयार गरेका विभिन्न पेशागत क्षेत्रका छोटा अवधिका २८० वटा तथा विभिन्न विधा अन्तर्गतका प्रि-डिप्लोमाका ३३ वटा तथा डिप्लोमा तहका कार्यक्रमका ४९ वटा पाठ्यक्रम छन्।

छोटा अवधिका तालिमका लागि सीटीईभीटी बाहेकका अन्य निकायहरूबाट आ-आफ्नै किसिमले विकास गरिएका पाठ्यक्रम छन्। यसरी भर्नादर र उत्तीर्ण दर घटेपछि कार्यटोलीले डिप्लोमा र प्रि-डिप्लोमा कार्यक्रमको पाठ्यक्रम सम्बन्धमा श्रम बजारको मागअनुकुल विभिन्न स्तरका सिपयुक्त जनशक्ति तयार गर्ने सीटीईभीटी कार्यक्रमको मुख्य उद्देश्यमा ध्यान केन्द्रित गर्दै डिप्लोमा र प्रि-डिप्लोमा पाठ्यक्रम र कार्यक्रमहरूको समीक्षा र पुन: संरचना गर्न सरकारलाई सिफारिस गरेको छ।

यस्तै, पाठ्यक्रम विकास तथा कार्यान्वयन प्रक्रियामा वास्तविक पेशागत क्षेत्रको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने, विद्यार्थी मूल्याङ्कन प्रणालीमा सुधारका लागि आन्तरिक र बाह्य साथै प्रयोगात्मक र सैद्धान्तिक रूपमा छुट्टाछुट्टै पास गर्ने प्रणालीमा परिवर्तन गर्ने लगायत अन्य पाठ्यक्रम सुधारसम्बन्धी सिफारिस गरिएको छ।

के भन्छिन् शिक्षामन्त्री?

शिक्षामन्त्री विद्या भट्टराईले सीटीईभीटी सुधारका लागि काम गरिरहेको दाबी गरिन्। सीटीईभीटीइका अध्यक्ष समेत रहेकी उनले आफूले शिक्षा मन्त्रालयमा आउँदा सीटीईभीटी अस्तव्यस्त रहेको सुनाउँदै ११ महिनादेखि बस्न नसकेको परिषद्को बैठक राखेर विभिन्न निर्णय गराएको पनि बताइन्।

‘सीटीईभीटीको सुधार गर्न अहिले कार्यटोलीले बुझाएको सुझाव र सिफारिसको अध्ययन भइरहेको छ’, गत बिहीबार शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)ले आयोजना गरेको शिक्षामन्त्रीसँग साक्षात्कार कार्यक्रममा उनले भनिन्, ‘यही आधारमा सीटीईभीटीको पाठ्यक्रम परिमार्जन हुनेछ। सीटीईभीटीमा निःशुल्क शिक्षाको व्यवस्था गर्नेगरी काम भइरहेको छ। यसको पुन: संरचनाका लागि खाका पनि तयार भइसकेको छ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार